सुधन गुरुङद्वारा मन्त्रीको प्रस्ताव अस्वीकार, आफूभन्दा पनि सक्षम मान्छेलाई पठाउन आग्रह


काठमाडौं, ८ असोज । हामी नेपालका संयोजक सुधन गुरुङले जेन–जी पुस्तालाई सरकारमा पठाउनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जी पुस्ताबाट सक्षम मान्छेलाई सरकारमा पठाउनुपर्ने बताएका हुन् । उनले आफूलाई अफर आएको भएपनि सक्षम मान्छे जानुपर्छ भनेर मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको पनि उनले बताए ।

‘जेन–जी पुस्तालाई सरकारमा पठाउनुपर्छ । तर, सक्षम मान्छे पठाउनुपर्छ । अहिलेका लागि म सक्षम छैन होला । म पनि नगएको कारण त्यही नै हो । अहिले जेन–जी पुस्ताबाट जति जना आउनुभएको छ, उहाँहरुले सिभी छोड्दिनुभएको छ । हामीमध्येमा पनि एकदम सक्षम मान्छे जानुपर्छ जस्तो लाग्छ । म नबनौंला, अरु कोही बन्ला । तर, सक्षम मान्छे नै बन्नुपर्छ,’– उनले भने ।

हामी नेपालका संयोजक गुरुङले पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले अब राजनीतिबाट विश्राम लिँदा नै राम्रो हुने बताए । उनीहरुलाई नयाँ नेपाल कस्तो हुन्छ भन्ने कुरा जेन–जी पुस्ताले देखाउन चाहेको पनि उनले बताए । प्रचण्ड, ओली, देउवालगायतले नेपाललाई स्वीजरल्याण्ड, सिंगापुर बनाउँछु भनेपनि जेन–जीहरुलाई नेपाललाई नेपालजस्तो नै बनाउन रहर रहेको उनले बताए ।

‘उहाँहरुलाई नयाँ नेपाल कस्तो हुनुपर्छ भनेर हामी देखाउन चाहन्छौं । अहिले उहाँहरुले विश्राम गर्दाखेरी धेरै राम्रो हुन्छ । किनभने उहाँहरुले देखेको सपना पनि एउटा नयाँ नेपाल त होला नि त ? भन्नुहुन्छ उहाँहरु– स्वीजरल्याण्ड बनाउँछु, सिंगापुर बनाउँछु । मलाई नेपाल नेपाल नै बनाउन मन छ,’– उनले भने ।