विशेष महाधिवेशनसहित माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय, मिति पछि तय हुने


काठमाडौं, ८ असोज । नेकपा (माओवादी केन्द्र) ले विशेष वा एकता महाधिवेशनसहित केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको छ । आज (बुधबार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भोलि (बिहीबार) देखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको हो ।

भोलि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय समिति विघटन गर्ने र विशेष वा एकता महाधिवेशन गर्ने भन्ने प्रस्ताव पेश हुनेछ । विशेष वा एकता महाधिवेशनको मिति भने केन्द्रीय समिति बैठकले नै तय गर्नेछ । विशेष वा एकता महाधिवेशनसहित केन्द्रीय समिति बैठककका लागि १० वटा एजेण्डा तय भएका छन् । गत असोज ५ गते बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए ।

आजको स्थायी समिति बैठकले प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्तावमाथि छलफल गर्ने, विशेष महाधिवेशन गर्ने, फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्धलगायतको एजेण्डा तय गरेको बताइएको छ ।