मंसिरमा विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति


काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्नेगरी राखेको प्रस्तावमा असहमति जनाएका छन् । बैठकको सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विशेष महाधिवेशनमा जाने भन्दै उनले पदाधिकारी र केन्द्रीय कमिटीसमेत भंग गर्ने प्रस्ताव गरेका थिए ।

पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । उनले निर्वाचनपछि मात्रै महाधिवेशनमा जानुपर्ने मत राखे ।

उपमहासचिव शर्माले भने सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समितिमा बस्नुपर्ने र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अगाडि सारे ।