माओवादीले महाधिवेशनमा जेन-जी पुस्ताको अधिकतम् सहभागिता गराउने, निर्वाचनमा टिकट दिँदा विशेष प्राथमिकता दिने


काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई पार्टी अध्यक्ष भइरहने इच्छा नरहेको बताएका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले आफू पार्टीको अध्यक्ष नरहेपनि जीवनको अन्तिम घडीसम्म देश र जनताको पक्षमा अविचलित रुपमा लागिरहने बताएका हुन् ।

अध्यक्ष प्रचण्डको भनाई उदृत गर्दै पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘मलाई अध्यक्षमा बसिरहने इच्छा त छैन । तर, फरि नेतृत्वको वैज्ञानिक प्रणालीअनुसार यसलाई सुनिश्चित गर्नुपर्छ । म अध्यक्ष नै भइरहनुपर्छ भन्ने होइन । मेरो जीवनको अन्तिम घडीसम्म म देश र जनताका लागि अविचलित रुपमा रहिरहने छु । तर, पनि यो बहस सुरु भएको छ । हामी यसलाई चाहिँ तार्किक निश्कर्षमा पुर्याउँछौं भनेर उहाँले भन्नुभयो ।’

साथै, पार्टी एकता र ध्रुवीकरणको विषयमा विचार मिल्नेहरुसित एकता गर्ने र समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्नका लागि सघन छलफल भइरहेको प्रचण्डले जानकारी गराएका छन् । उनले मोर्चालाई एकता प्रक्रियामा पुर्याउन अझ प्रभावकारी ढंगले अगाडि बढ्ने र बृहत वामपन्थी मोर्चा बनाउने कुरा पनि प्रचण्डले आफ्नो प्रस्तावमा राखेको प्रवक्ता सापकोटाले बताए ।

त्यसैगरी प्रचण्डले घोषित मितिमा चुनाव सम्पन्न गर्ने वातावरण बनाउन पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने र हरहालतमा निर्वाचन हुनुपर्छ भनेर सरकारको ध्यानाकर्षण गर्ने पनि बताएका छन् । पार्टीको महाधिवेशनमा जेन–जी पुस्ताको अधिकतम् सहभागिताको लागि वातावरण तयार पार्ने, आगामी निर्वाचनमा टिकट दिने बेलामा जेन–जी पुस्तालाई विशेष प्राथमिकता दिने कुरा पनि प्रचण्डले उल्लेख गरेको सापकोटाले बताए ।