माओवादीका सबै नेताहरुको सम्पत्ति छानविन हुने, आयोग नै गठन गर्ने प्रचण्डको घोषणा


काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका सबै नेताहरुको सम्पत्ति छानविन हुने घोषणा गरेका छन् । उनले यसका लागि सम्पत्ति छानविन आयोग नै गठन गर्ने बताए ।

पार्टी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै उनले अब पुरानै ढंगले पार्टी नचल्ने, नयाँ कार्यविधि र ढंगबाट अगाडि बढ्नुपर्ने बताए । संगठनात्मक कार्यशैली मात्र नभएर व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले नेताको खानपान, लवाइखुवाइदेखि जनतासँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । यसबारेका के–के गर्ने भनेर लिखित सुझाव पठाउनसमेत उनले बताएका छन् । पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने प्रचण्डको बुझाइ छ ।