काठमाडौं । विश्वले सन् २०२६ मा सामना गरेका जलवायु तथा मौसमसम्बन्धी चरम घटनाहरू आगामी वर्ष पनि जारी रहने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सोमबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा पृथ्वीको जलवायु अवस्था ‘सीमाभन्दा बाहिर’ पुगेको उल्लेख गर्दै आगामी दिनमा अझ गम्भीर अवस्था आउन सक्ने जनाएको छ ।
टर्कीमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्वकै ठूलो जलवायु सम्मेलन कोप–३१ सुरु भएकै दिन सार्वजनिक प्रतिवेदनले विश्वभर देखिएका अभूतपूर्व जलवायु घटनाको विवरण प्रस्तुत गरेको छ । प्राकृतिक जलवायु प्रणाली एल निनो थप शक्तिशाली बन्दै गएकाले आगामी दिनमा तापक्रम अझ बढ्ने र चरम मौसमी घटना तीव्र हुने प्रतिवेदनमा उल्लेख छ ।
एल निनो यस्तो प्राकृतिक जलवायु प्रणाली हो, जसले सामान्यतया विश्वव्यापी तापक्रम बढाउन भूमिका खेल्छ । डब्लूएमओकी महासचिव सेलेस्टे साउलोले मौसमसम्बन्धी चरम घटनाहरू झन् शक्तिशाली बन्दै गएको बताएकी छन् ।
‘हामीले मौसमलाई झन् शक्तिशाली बनाइरहेका छौँ र एलनिनोले जोखिमलाई थप गुणात्मक रूपमा बढाउनेछ । गर्मीका लहर, उष्णकटिबन्धीय चक्रवात र वर्षाजन्य आँधीहरू हाम्रो ऐतिहासिक अनुमानभन्दा पनि तीव्र गतिमा शक्तिशाली भइरहेका छन्,’ उनले भनेकी छन् ।
जलवायुका अधिकांश सूचकले तोडे रेकर्ड
सन् २०२५ जनवरीदेखि सन् २०२६ सेप्टेम्बरसम्मका तथ्यांक विश्लेषण गरिएको प्रतिवेदनले जलवायु परिवर्तनका विभिन्न सूचकमा गम्भीर अवस्था देखाएको छ । प्रतिवेदनअनुसार पछिल्ला १२ वर्ष अभिलेख राख्न थालिएयताकै सबैभन्दा ताता १२ वर्ष बनेका छन् । सन् २०२६ पनि अहिलेसम्मकै चार सबैभन्दा ताता वर्षमध्ये एक हुने देखिएको छ ।
सन् २०२६ जनवरीदेखि सेप्टेम्बरसम्म विश्वको औसत तापक्रम जीवाश्म इन्धनको व्यापक प्रयोग सुरु हुनुअघिको तुलनामा १.४७ डिग्री सेल्सियस बढी पुगेको छ ।
अहिले विकसित भइरहेको एल निनो अभिलेखमा सबैभन्दा शक्तिशालीमध्ये एक हुने दिशामा अघि बढिरहेको प्रतिवेदनमा उल्लेख छ । यसको प्रभाव सन् २०२७ सम्म रहने अनुमान गरिएको छ । यसले विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम बढाउनेछ । कतै बाढी आउनेछ भने कतै अत्यधिक गर्मी, खडेरी र डढेलोको जोखिम बढ्नेछ ।
त्यस्तै, पृथ्वीको तापक्रम बढाउन भूमिका खेल्ने कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता हरितगृह ग्यासको मात्रा सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । यी ग्यासले वायुमण्डलमा अभूतपूर्व मात्रामा ताप थुनेका छन् । वास्तविक समयका मापनले सन् २०२६ मा पनि यी ग्यासको मात्रा बढिरहेको देखाएका छन् ।
यस वर्ष समुद्री सतह अहिलेसम्मकै उच्च तहमा पुगेको छ भने समुद्रको तापक्रमले पनि नयाँ मासिक रेकर्ड कायम गरेको छ ।
हिमनदीहरू पनि चिन्ताजनक गतिमा पग्लिरहेका छन् । सन् २०२५ मा हिमनदीबाट पग्लिएर निस्किएको बरफको मात्रा एक वर्षसम्म प्रत्येक सेकेन्ड पाँचवटा ओलम्पिक आकारका पौडी पोखरी भर्न पर्याप्त हुने प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी जलवायुका चरम घटनाको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।
‘विशाल एलनिनो मानवसिर्जित जलवायु परिवर्तनका कारण पहिले नै अत्यधिक तातिएको पृथ्वीसँग ठोक्किँदै छ । जलवायुका रेकर्डहरू लगातार भत्किरहेका छन् र यसको मानवीय मूल्य पनि बढिरहेको छ,’ उनले भनेका छन् ।
गर्मीका कारण युरोपमा ५० हजारभन्दा बढीको मृत्यु
जलवायु परिवर्तनको मानवीय असर यस वर्ष युरोपमा देखिएका भीषण गर्मीका लहरमा स्पष्ट भएको छ । यस गर्मीयाममा युरोपका विभिन्न क्षेत्रमा चलेका अत्यधिक गर्मीका लहरका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । वैज्ञानिकहरूले वास्तविक मृतक संख्या योभन्दा अझ बढी हुन सक्ने बताएका छन् ।
त्यसैगरी, नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको चट्टान र हिमबरफसहितको भीषण पहिरोले पनि जलवायु परिवर्तनको प्रभाव र जोखिम उजागर गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त घटनामा १ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ ।
वैज्ञानिकहरूका अनुसार हिमालयका अग्ला शिखरमा बरफले चट्टानलाई जोडेर राख्ने प्राकृतिक ‘ग्लु’को काम गर्छ । जलवायु परिवर्तनका कारण बरफमा आएको परिवर्तनले यस्तो पहिरोको जोखिम बढाउने उनीहरूको भनाइ छ ।
भियतनाममा आएको बाढीदेखि भारतमा कमजोर मनसुनी वर्षासम्म विश्वका विभिन्न देशले जलवायु परिवर्तनसँग जोडिएका चरम मौसमी घटनाको सामना गरिरहेका छन् । यस्ता घटनाले खाद्य उत्पादनमा क्षति पुर्याउनुका साथै मानिसहरूको जीविकोपार्जनमा असर पारेका छन् र गरिबी बढाएका छन् ।
सन् २०२७ मा अझ बढी गर्मीको जोखिम
आगामी वर्ष विश्वले जलवायु परिवर्तनको प्रभावबाट राहत पाउने अपेक्षा गर्न नसकिने प्रतिवेदनले चेतावनी दिएको छ । अहिले देखिएको शक्तिशाली एल निनो सन् २०२७ सम्म सक्रिय रहने र यसले थप गर्मी तथा चरम मौसमी घटना निम्त्याउने अनुमान गरिएको छ ।
केही वैज्ञानिकहरूले सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न सक्ने पूर्वानुमान गरेका छन् ।
कोप–३१ मा जीवाश्म इन्धनबाट बाहिरिने विषयमा छलफल
प्रतिवेदन सार्वजनिक भइरहेका बेला टर्कीको अन्ताल्यामा कोप–३१ जलवायु सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटनमा विश्वका विभिन्न देशका नेताहरूले सम्बोधन गर्ने तयारी छ ।
आगामी दुई सातासम्म चल्ने सम्मेलनमा विश्वलाई पृथ्वीको तापक्रम बढाउने जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फ कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ । जलवायु परिवर्तनका विनाशकारी प्रभाव सामना गरिरहेका कमजोर तथा विकासशील देशलाई कसले र कति आर्थिक सहयोग उपलब्ध गराउने भन्ने विषय पनि वार्ताको मुख्य एजेन्डा हुनेछ ।
जलवायु सम्मेलनहरूमा प्रायः विभिन्न देशबीच तीव्र मतभेद देखिने गरेका छन् । केही देशले महत्त्वाकांक्षी जलवायु कदमको पक्षमा दबाब दिँदै आएका छन् भने प्रमुख तेल उत्पादक राष्ट्रहरूको नेतृत्वमा रहेका केही देशले त्यस्ता प्रस्तावको विरोध गर्दै आएका छन् ।
यही मतभेदका कारण सम्मेलनबाट हुने सहमति कमजोर र प्रभावहीन हुने गरेको आलोचना हुँदै आएको छ । गत वर्ष ब्राजिलमा सम्पन्न कोप–३० को अन्तिम सहमतिमा जलवायु संकटको प्रमुख कारण मानिने जीवाश्म इन्धनको उल्लेखसमेत गरिएको थिएन ।
उत्सर्जन कटौती र कमजोर देशलाई आर्थिक सहयोग गर्न गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले तीव्र गतिमा बढिरहेको जलवायु संकटको सामना गर्न देशहरूलाई अझ महत्त्वाकांक्षी कदम चाल्न आग्रह गरेका छन् ।
उनले हरितगृह ग्यास उत्सर्जन तीव्र गतिमा घटाउन, जीवाश्म इन्धनबाट न्यायपूर्ण रूपान्तरणलाई गति दिन र जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिममा रहेका देशलाई आवश्यक आर्थिक सहयोग तथा सुरक्षा उपलब्ध गराउन विश्व नेताहरूलाई आग्रह गरेका छन् ।
‘नेताहरूले उत्सर्जन अझ तीव्र गतिमा कटौती गरेर गम्भीरता देखाउनुपर्छ । जीवाश्म इन्धनबाट न्यायपूर्ण रूपान्तरणलाई गति दिनुपर्छ र जोखिममा रहेका देशलाई आवश्यक वित्तीय सहयोग तथा संरक्षण उपलब्ध गराउनुपर्छ,’ गुटेरेसले भनेका छन् ।




प्रतिक्रिया