काठमाडौं, असोज १९ । नेकपा (एमाले) का नेता सूर्य थापाले जेनजी आन्दोलनका नाममा केपी शर्मा ओली र राधिका शाक्यको पदचाप मेटाउन खोजेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उनले एमाले अध्यक्ष ओली र उनकी पत्नी शाक्यको पदचापसम्म मेटाउन आठ वटा घर र सम्पत्ति खरानी पारेको जनाएका छन् । आततायी जल्लादहरूले ओलीको पुर्ख्यौली घरदेखि डेरासम्म जलाएको उनको भनाई छ ।
ओलीको घरमा आगजनी गर्न नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामा स्वयं बालकोटस्थित निवासमा पुगेको उल्लेख गर्दै उनले क्षति ओलीको निजी सम्पत्तिमा भयो कि राष्ट्रिय सम्पत्ति ?भन्दै प्रश्न गरेका छन् ।
थापाको फेसबुकमा पोष्टः जस्ताको त्यस्तै
पूर्व प्रधानमन्त्री तथ नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र राधिका शाक्यको पदचापसम्म मेटाउन खोजेका आततायी जल्लादहरूले खासमा राष्ट्रिय सम्पत्तिमा आगो लगाएर खरानी बनाएका छन्। उहाँको खरानी पारिएको पुर्ख्यौली घरदेखि डेरासम्म हेरौं:
१. आठराई गाउँपालिका-४ ईवा, ते-हथुमस्थित जन्मघर, जो उहाँले बिक्री भएको लामो समयपछि फिर्ता गरेर ट्रष्टअन्तर्गत रख्नुभएको थियो,
२. दमक-५ स्थित रोमनाथ ओलीको घर, जहाँ उहाँ झापा आउजाउ गर्दा बस्नुहुन्थ्यो, एउटा कोठा उहाँको लागि थियो,
पछिल्लो समय त्यहाँ ठाउँ अपुग भएर बस्नुहुन्नथ्यो,
३. दमक-९ स्थित भाडामा लिएको घर, जहाँ उहाँ पछिल्लो समय झापा जाँदा बस्ने गर्नुहुन्थ्यो,
४. भद्रपुर नगरपालिका-१ पृथ्वीनगर हिमाली टोलस्थित भाइको घर, जहाँ उहाँ अहिलेसम्म एक रात पनि बस्नुभएको छैन, ९६ बर्षीय बुबा प्राय: त्यहाँ भाइसँग बस्नुहुन्थ्यो,
५. सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित मूलघर, जो उहाँकी श्रीमती राधिका शाक्यले जीवनभरिको कमाइ लगाएर बनाउनुभएको थियो,
६. बालकोटस्थित भेटघाट घर, जो उहाँ पार्टी अध्यक्ष हुनुभएपछि भेटघाट व्यवस्थित गर्न बनाउनुभएको थियो,
७. बालकोटस्थित पुस्तकालय घर, जो उहाँकी श्रीमती राधिका शाक्यले ठूलो मेहेनतका साथ बनाउनुभएको थियो र
८. बालकोटस्थित सुरक्षाकर्मी बस्ने घर, जो उहाँ प्रधानमन्त्री भएर घर फर्किनुभएपछि बनाउनुभएको थियो।
क्रम संख्या १,६, ७ र ८ का घर र जग्गा सबै केपी शर्मा ओली ट्रस्ट नेपाललाई प्रदान गरी आफ्नो शेषपछि राष्ट्रको सम्पत्ति हुने गराउनुभएको छ।
नेपाली काँग्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामा स्वयं बालकोटस्थित निवासमा आगजनी गर्न पुगेको भिडियो सार्वजनिक भइसकेको छ, तर यो क्षति केपी शर्मा ओलीको निजी सम्पत्तिमा भयो कि राष्ट्रिय सम्पत्ति ? सिंगो देशले बुझ्न जरूरी छ।




प्रतिक्रिया