काठमाडौं, असोज १९ । वरिष्ठ मौसमविद मिलन कुमार अर्यालले देशका अधिकांश स्थानमा ठूलो वर्षा रोकिएको जनाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने नेपाली बहसमा पत्रकार ऋषि धमलासँग बोल्दै उनले देशका अधिकांश स्थानमा ठूलो वर्षा रोकिएपनि कोशी प्रदेशमा भने अझै वर्षाको सम्भावना कायमै रहेको बताए ।
उनले भने, ‘गएराती बाग्मती, मधेश प्रदेश र कोशी प्रदेशमा अत्याधिक वर्षा भएको छ । अहिले मौसम प्रणाली कमजोर बन्दै गएकाले बाग्मती र मधेश प्रदेशमा ठूलो वर्षाको जोखिम टरेको छ । आज कोशी प्रदेशका पहाडी जिल्लाहरु इलाम, धनकुटा, झापा, सुनसरी, उदयपुर, मोरङमा मध्यय खालको वर्षाको सम्भावना रहेको देखिन्छ । इलाममा सबै भन्दा बढी (१६० मिलिमिटर) बर्षा भएको छ । आज दिनभर मौसममा बदली भइरहेपनि पानी पर्न भने रोकिन्छ ।’
बाग्मती प्रदेश र मधेश प्रदेशको आकाश खुल्दै आएकाले सोमबारसम्म कोशी प्रदेशको मौसममा समेत सुधार आउने उनको भनाई छ । जलवायु परिर्वतनका कारण पछिल्ला वर्षमा नेपालले प्राकृतिक विपत्तीको सामना गर्दै आएको बताउँदै उनले यसवर्ष जल तथा मौसम विज्ञान विभागले समयमै सुचना सम्प्रेषण गरेर आमनागरिकलाई सुचित गराएकाले धेरै जनधनको क्षति हुन नपाएको जनाए । सरकारले पनि बेलैमा सतर्कता र सावधानी अपनाएकाले यस पटक मानवीय क्षति हुनबाट रोकिएको उनको भनाई छ ।




प्रतिक्रिया