काठमाडौं, २२ असोज । नेकपा (माओवादी केन्द्र) का नेता रञ्जित तामाङले जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमा तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरु केपी शर्मा ओली, रमेश लेखकलगायत जिम्मेवार र जवाफदेही हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली, लेखकसँगै परिस्थिति यो अवस्थामा आइपुग्न उक्साउने सबैमाथि अनुसन्धान र कारबाही हुनुपर्ने बताएका हुन् ।
‘तत्कालीन सरकारको नेतृत्वमा भएका हुनाले जवाफदेही र जिम्मेवार केपी ओली, रमेश लेखकहरु नै हुनुपर्छ । यसमा कुनै विवाद छैन । तर, यस प्रकारको स्थितिमा आइपुग्नका लागि उक्साउने अरु पनि जिम्मेवार छन् । ती सबै छानविन हुनुपर्छ । सबैको छानविन हुनुपर्यो । सबै कानूनी दायरामा आउनुपर्यो,’– उनले भने ।
त्यस्तै, फरक प्रसंगमा उनले आगामी महाधिवेशनबाट अब माओवादी पुरानै अवस्थामा नरहने बताए । अध्यक्षमा नयाँ वा पुरानो जो आए पनि बाँकी सबै क्षेत्रमा नयाँ पुस्ता आउने उनले बताए । उनले प्रचण्डलाई किन हटाउने, के– का लागि हटाउने, के ठीक भयो ? के बेठीक भयो भन्ने कुरा विशेष महाधिवेशनको क्रममा गम्भीरतापूर्वक छलफल हुने बताए । लहड चल्यो भन्दैमा नेतृत्वको औचित्यता सकियो भनेर आग्रहपूर्वक भन्न नहुने उनको तर्क छ ।
साथै, तीन पटक गरेर प्रचण्ड ३६ महिना प्रधानमन्त्री बन्दा उनले राम्रोमात्रै काम गरेको नेता तामाङको दाबी छ । नेता तामाङले प्रचण्ड असक्षम, असफल र गलत भन्ने कुनै पनि ठाउँ नरहेको बताए । आम पार्टी पंत्ति र कार्यकर्तामा प्रचण्डको औचित्यता र आवश्यकता अझै सकिएको छैन भन्ने रहेको उनले बताए ।
‘प्रचण्ड ३ पटक गरेर ३६ महिना प्रधानमन्त्री हुनुभयो । ३६ महिनामा उहाँले गरेको कामहरुको हिसाबमा हेर्दाखेरी प्रचण्ड असफल, प्रचण्ड गलत, प्रचण्ड असक्षम भन्ने ठाउँ छैन । त्यो आधारमा प्रचण्डको औचित्यता, आवश्यकता अझै पनि सकिएको छैन भन्ने कुरा आम पार्टी कार्यकर्तामा छ । हामीलाई त्यस्तो लाग्छ,’– उनले भने ।




प्रतिक्रिया