ऋषि धमला उत्रिए फिल्ड-रिपोर्टिङमा, देखाए रोशी बाढीको वितण्डा र जनताको कष्ट (भिडिओसहित)


काठमाडौं, २२ असोज । हालैको अविरल वर्षाको कारण देशभरि ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय राजमार्गहरु अवरुद्ध बनेका छन् । मानिसको जीवन कष्टकर बनेको छ । कतिपय ठाउँमा सवारी आवागमन ठप्प हुँदा आम मानिसले सकस व्यहोर्नुपरेको छ ।

काभ्रेको रोशी नदीको बाढी वितण्डाको कारण सो क्षेत्रको जनजीवन अझैपनि प्रभावित छ । मान्छेले ठूलो सास्ती खेप्नुपरेको छ । प्राइम टिभीका अध्यक्ष ऋषि धमला आज ‘प्राइम निगरानी’ कार्यक्रम लिएर बाढी/पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुगेका छन् । सो क्रममा आम मानिसले भोग्नुपरेको पीडा देखाएका छन् ।

उनले नमोबुद्ध नगरपालिकाको थानसिंहबेसीबाट समेत प्रत्यक्ष प्रसारण गरेका थिए । सो क्षेत्रमा गत वर्ष नै बगाएको पक्की पुल अझैसम्म पनि बनाउन सकिएको छैन । त्यसको कारण रोशीका ६ वटा वडा र महाभारतको सिंगो गाउँपालिका जाने बाटो अहिले अवरुद्ध भएको छ । स्थानीहरुले सो पुल तत्काल विपद् व्यवस्थापन कोषबाट भएपनि बनाउनको लागि आग्रह गरेका छन् ।

अहिलेसम्म सो पुलको लागि डिपिआरसमेत हुन नसकेको उनीहरुको गुनासो छ । सडकको अवस्था बेहाल हुँदा सो क्षेत्रका बिरामीहरु उपचारबाट बञ्चित हुनुपरेको छ । एम्बुलेन्ससम्म बिरामी ल्याउनको लागि स्थानीयहरुले चार/पाँच घण्टा बोकेर ल्याउनुपरेको दृश्य देखाईएको छ ।