जनभावनाको संवेदनशिलतालाई बुझ्न नसके देश ठूलो दुर्घटनामा जान्छ : कांग्रेस नेता खड्का


काठमाडौं, असोज २३ । नेपाली कांग्रेसका नेता भरत खड्काले राजनीतिक दलहरु जनभावना अनुसार अगाडी बढ्न नसक्दा मुलुक राजनीतिक अस्थिरतातर्फ अघि बढेको बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै जेनजी आन्दोलनले सबै पार्टीका नेता कार्यकर्तालाई विगतमा भएका कमी कमजोरीलाई सुधार गरेर अगाडी बढ्न मार्ग निर्देशन गरेकाले अहिलेको संवेदनशिलतालाई बुझ्न नसके देश ठूलो दुर्घटनामा जाने बताए

नेता खड्काले भने, ‘अव राजनीतिक दलहरुले जनताको भरोसा बटुल्दै रुपान्तरण भएर अघि बढ्नुपर्ने बेला आएको छ । सानो गल्तीले ठूलो क्षति हुन सक्ने भएकाले मुुलुकलाई बचाउँदै मुलुक र जनताको लागि गर्न नसकेका कमी कमजोरीलाई स्विकार गरेर जनतामा जानुको विकल्प छैन् । कुनैपनि दलका नेता तथा कार्यकर्ता देश हार्ने खेलमा लाग्नु अपराध हुन्छ । जेनजी आन्दोलनबाट ठूलो शिक्षा लिएर अघि बढ्नुपर्छ ।’

राजनीतिक दलहरुले देश र जनताको हितमा काम गर्दै फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सफल गर्न सके मात्रै देश सहि दिशामा अघि बढ्ने उनको भनाई छ । नेता तथा कार्यकर्ता अझै पनि सत्ताको लोभ र पैसाको लोभमा लागे कहिले पनि व्यवहारमा सुधार नआउने उनले बताए । दलहरुलाई निषेध गरेर कुनै पनि निर्वाचनको अर्थ नरहेको बताउँदै उनले दल भित्रका खराव नेतालाई पार्टीले चुनाव लड्न टिकट दिएपनि जनताले हराउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘राजनीतिक दल लोकतन्त्रका गहनाहरु हुन् । दल आफैमा खराव हुँदैनन् । दल भित्रका नेता खराव हुन सक्नछन् । स्वतन्त्रता र लोकतन्त्रका लागि लडेका दलबाट खराव उम्मेदवार चुनावमा उठे जनताले हराउनुपर्छ । जनताको अधिकार खोखिने र लोकतन्त्र कमजोर हुने, देशको सार्वभौमसत्तामा आँच आउने कुरामा अव कसैले लाग्नु हुँदैन् । पटक–पटकका राजनीतिक दुर्घटनाबाट पाठ सिकेर आफूलाई सुधार गर्नैपर्छ । मुलूकलाई राजनीतिक दुर्घटनामा धकेल्नु हुँदैन् ।’