काठमाडौं, असोज २४ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको तथ्याङ्कानुसार दश दिनमा करिब डेढ लाखले हवाईयात्रा गरेका छन् । असोज १२ देखि २१ गतेसम्म कुल एक लाख ३४ हजार ५१५ यात्रुले हवाईयात्रा गरेका हुन् । यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौँ भित्रिएका छन् । उक्त अवधिमा एक हजार २८५ उडान र एक हजार २६३ अवतरण गरी कुल दुई हजार ५४८ उडान भएका छन् ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार गत असोज २० गते आन्तरिकतर्फ एकैदिन १९ हजार २५५ यात्रु आवतजावत गरेका छन् । जसमध्ये नौ हजार ९३६ हवाई यात्रु काठमाडौँ भित्रिए भने नौ हजार १३८ बाहिरिएका छन् । एक सय ८१ यात्रुले पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरेका छन् । उक्त दिन आन्तरिकतर्फ १६४ उडान र १६० अवतरण गरी ३२४ उडान भएका थिए ।
आकडाअनुसार असोज १२ गते १४ हजार १८९, १३ गते १३ हजार १३५, १४ गते ११ हजार ७६९, १५ गते ११ हजार ८९१, १६ गते १३ हजार ३०९, १७ गते १६ हजार ३४५, १८ गते मात्र ६०३, १९ गते १६ हजार ३००, २० गते १९ हजार २५५ र २१ गते १७ हजार ७२२ यात्रुले हवाईयात्रा गरेका छन् ।
वर्षाले सडक अवरुद्ध भएपछि सडक सवारीसाधनबाट यात्रा गर्ने यात्रुले पनि हवाईयात्रा रोज्नुपर्ने बाध्यता भएकाले यसपटक हवाई उडानमा बढी चाप भएको वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले बताए। यात्रुको चापले एयरलाइन्सलाई उडान व्यवस्थापन गर्न पनि कठिनाइ भएको उनको भनाइ छ ।
दसैँको समयमा भएको प्राकृतिक विपत्तिले एयरलाइन्सलाई उडान व्यवस्था गर्न निकै चुनौती भएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए । “दसैँको एक दिन सम्पूर्ण उडान रद्द हुँदा त्यसको तीनचार दिनसम्म उडान व्यवस्थापन गर्न कठिन भयो”, उनले भने, “बिहीबारसम्म एयरलाइन्सलाई उडान व्यवस्थापनमा समस्या भएको छ । शनिबारदेखि सामान्य अवस्थामा आउला ।”
बुद्ध एयरले मात्रै असार २० गते एकै दिन ११ हजार र २१ गते ११ हजार हाराहारी उडान गरेको छ । कम्पनीले अहिले दुईतर्फी दैनिक १६० उडान गर्दै आएको छ । उडान चाप बढेका बेला प्रतिकूल मौसमले उडान अवरोध हुँदा थप समस्या भएको निर्देशक जोशीको भनाइ छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दसैँको बेलाको प्राकृतिक विपत्तिले हवाई उडान व्यवस्थापन निकै सास्ती व्यहोर्नुपरेको बताए । उनले भने, “दसैँमै एक्कासी परेको वर्षाले प्रतिकूल मौसम हुँदा उडानमा समस्या भयो । गत वर्ष दसैँ अगाडि नै मनसुनी वर्षा भएकाले तुलनात्मक रूपमा दसैँमा उडान व्यवस्थापन गर्न कठिन भएको थिएन । यो पटक हवाईयात्रा सकसपूर्ण रह्यो ।” क्षमताभन्दा बढी उडान गर्नुपर्ने र टिकटका लागि यात्रुको प्रेसर थेगिनसक्नु रहेको प्रवक्ता बर्तौलाले बताए । यतीले अहिले दैनिक दुइतर्फी ६० देखि ७० उडान गरिरहेको छ ।
यता श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि यसपटक उडान व्यवस्थापन र यात्रुको चाप धान्न निकै कठिन भएको बताउन्छन् । केही गन्तव्यमा उडान थपिए पनि उडान ‘डिले’ हुँदा व्यवस्थापनमा चुनौती बढेको बताउनुभयो । टिकटका लागि यात्रुको निकै प्रेसर थेग्नुपरेको उनले उल्लेख गरे । श्रीएयरले पनि दैनिक दुईतर्फी करिब ७० उडान गर्दै आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादरअनुसार काठमाडौँदेखि सबैभन्दा लामो गन्तव्य धनगढीमा रु १७ हजार ५७९ र सबैभन्दा नजिक काठमाडौँ–सिमरामा रु तीन हजार ९७८ रहेको छ ।
अविरल वर्षापछि आएको बाढीले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा हवाईयात्रा गर्ने यात्रुलाई समेत निकै सास्ती भयो । हाइवेको बाटो लामो घुम्ती पार गरेर यात्रा गर्नुपर्ने भएकाले करिब ८ देखि १० घण्टाको यात्रा थप १० घण्टा लामो सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भयो । बसको भाडा पनि झण्डै दोब्बर तिर्नुपर्यो यात्रुले । उदाहरणका रूपमा धरानबाट काठमाडौँ आउने बोलेरो जिपले साबिकमा रु दुई हजार भाडा लिने गरेकामा दसैँमा रु तीन हजारदेखि चार हजारसम्म भाडा लिएको पाइयो । त्यसैगरी, कटारी–काठमाडौँ साविकमा रु एक हजार २०० भाडा थियो । अहिले यात्रुले रु तीन हजारसम्म तिरेर यात्रा गर्न बाध्य भएका छन् ।
हरेक वर्ष दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रामाइलो गर्ने चाहना सबैलाई हुन्छ । तर, दसैँमा एयरलाइन्सको टिकट पाउन मुस्किल हुन्छ । हवाईयात्रुको चाप बढ्छ । सीमित जहाज र पर्याप्त उडान नहुँदा बर्सेनि हवाईयात्रुले सास्ती व्यहोर्दै आएका छन् । हवाईयात्रा सहज, सुलभ र उडान सहजीकरण बनाउन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।




प्रतिक्रिया