टियूको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने शिक्षामन्त्री पुनको घोषणा


काठमाडौं, २४ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । समितिले यसअघि नै प्रतिवेदन सरकारलाई पेस गरेको थियो । तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सो प्रतिवेदन सार्वजनिक गरेको थिएन । प्रतिवेदन सार्वजनिक गरिनुपर्ने भनेर संसद्मा समेत आवाज उठेको थियो ।

अहिले सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले यो प्रकरणमा चासो लिएको छ । शिक्षामन्त्रीमा महावीर पुन नियुक्त भएसँगै सो प्रतिवेदन सार्वजनिक हुने आशा पलाएको थियो । मन्त्री पुनले सो प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरिसकेका छन् । शिक्षा मन्त्रालय स्रोतले जनाएअनुसार प्रतिवेदन आज/भोलिभित्रै सार्वजनिक गर्ने तयारी छ ।

मन्त्री पुनले सामाजिक सञ्जाल फेशबुकमार्फत आफूले गरेका मुख्य निर्णयहरु साझा गरेका छन् । जहाँ भनिएको छ–

म मन्त्रीले हिजो गरेका छलफल, निर्णय तथा निर्देशनः
१) नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (Radio Isotopes) औषधिहरुको उत्पादन नेपाल मै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधी उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने ।
२) सिटिइभिटी को पुर्नसंरचना गरेर त्यहाँ बाट सक्षम जनशक्ती उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने।
३) नास्टमा बैज्ञानिक अनुसंधान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमुलक बनाउन, प्रतिभाशाली नेपालीहरुलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदत तुरुन्त बनाउने ।
४) त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने।
५) संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरुको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ती गर्ने ।
मुख्य निर्णयहरु र कदमहरु यि नै हुन।