कांग्रेस चुनावमा जान खुट्टा कमाउँदैन : सहमहामन्त्री परियार


काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले विश्वसनीय, निश्पक्ष र शान्तिपूर्ण वातावरण सुनिश्चित गरे कांग्रेस चुनावमा जान तयार रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन सरकारले स्वच्छ, निश्पक्ष र भयरहित वातावरण तयार पारे लोकतान्त्रिक दल भएको नाताले कांग्रेस निर्वाचनमा जानबाट पछि नहट्ने बताएका हुन् ।

उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाउन नसके निर्वाचनमा जानुको औचित्य छैन् । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार तयार हुनुपर्छ । राजाको पालाको जस्तो निर्वाचन भए कुनैपनि दलले निर्वाचनमा भाग लिदैनन् ।’

कांग्रेसले नेतृत्व हस्तान्तरणका विषयमा वर्तमान अवस्था र घटनाक्रमलाई विश्लेषण गरेर अघि बढ्ने र पार्टी सभापति शेरबहादुर देउवाले तत्कालका लागि उपसभापति पूर्णवहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर नियमित अधिवेशनमा जाने उनको भनाई रहेको छ । नियमित अधिवेशन हुन नसके विशेष अधिवेशनमा जान कांग्रेस अल्झिन नहुने उनले बताए ।