काठमाडौं, असोज २५ । कैलालीमा युवाहरुबीचको आपसी विवादमा एक युवकको बीभत्स हत्या भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–८ मा गएराति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा पक्राउ परेका थिए। प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने शरीर घटनास्थलमै रहेको जानकारी दिएको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार मृतक र हत्यामा संलग्न दुबै जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गर्ने क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका हुन् ।




प्रतिक्रिया