जेनजी प्रतिनिधि ढुङ्गानाको आह्वानः निष्पक्ष प्रतिष्पर्धा हुन्छ, सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुस्


काठमाडौँ, २५ असोज । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् ।

संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको उनीहरुले बताए ।

जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले निर्वाचनमार्फत जनप्रतिनिधिको चयन हुने हुँदा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

‘निर्वाचनमा सबै दलहरु आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनुहुन्छ । अधिकार छ, जनताले छाने भने जो तपाईं नै निर्वाचित हुनुहोला । निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिष्पर्धा हुन्छ सबैजना आउनुहोस्,’– उनले भने ।

ढुङ्गानाले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरुको स्पष्ट धारणा रहेको बताए । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो । उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारकातर्फबाट राजनीतिक दलहरुलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो ।