काठमाडौं, असोज २६ । इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सामाजिक सञ्जालमार्फत जिल्लामा सवारी आवागमन खुला भएकोबारे गलत सुचना सम्प्रेषण गर्ने व्यक्तिलाई कानुनी कारवाही गरिने बताएकी छन् ।
मेची राजमार्ग लगायतका सडकको अवरोध कायमै रहेको अवस्थामा सामाजिक सञ्जालबाट भइरहेका गलत सुचनाका कारण टाढाबाट आएका सवारी अलपत्र परिरहेको बताउँदै उनले प्रशासनको आधिकारिक सुचनालाई आधार मानेर मात्रै यात्रामा निश्कन आग्रह गरिन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग बौल्दै उनले असोज १८ गते रातिको विनाशकारी बाढीपहिरोबाट ठूलो मानवीय क्षति बेहोरेको इलाममा जनजीवन बिस्तारै सहज हुँदै गएको र राजमार्गको अवरोध हटाउने कार्य जारी रहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘बाढि र पहिरोका कारण इलाममा ३३७ घरधुरीमा क्षति पुगेको छ । जसमध्ये २३८ घरमा पूर्ण क्षति पुगेको छ । अहिले मुख्य राजमार्गमा खसेको अवरोध हटाउने काम तिब्र रुपमा भइरहेको छ । यात्रुवाहक सवारी आवागमन सुचारु गर्न सडक डिभिजन, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार प्रयास गरे पनि सवारी चालकले जर्वजस्ती सवारी फसाएर काम प्रभावित भइरहेको छ । हिजो राती फसेको गाडी निकाल्न सेना र प्रहरी परिचालन गर्नुपरेको छ । सामाजिक सञ्जालबाट एकतर्फी बाटो खुलेको गलत सुचना दिदाँ पाचथर, ताप्लेजुङबाट आएका यात्रु अलपत्र परेका छन् । प्रशासनले गलत सुचना दिनेलाई कानुनी कारवाही गर्ने तयारी गरेको छ ।’
आवागमनका लागि प्रशासनको आधिकारिक सुचनामा मात्रै भर पर्न आग्रह गर्दै उनले साना सवारी सञ्चालनका लागि वैकल्पिक मार्गबारे छलफल भइरहेको जानकारी दिइन् । उहाँका अनुसार इलाममा सानाठूला बाढीपहिरोले १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडकमा क्षति पुगेको छ । त्यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । एक जना बेपत्ता छन् । सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।




प्रतिक्रिया