काठमाडौं, असोज २७ । विगत दुई वर्षदेखि चल्दै आएको इजरायल र हमासबिच अन्ततः युद्धविराम भएको छ । अमेरिकी सरकारको विशेष पहलमा भएको युद्धरत पक्षबिचको वार्ता सफल भएसँगै शुक्रबारदेखि युद्धविराम हुँदा मध्यपूर्वलगायत विश्वभर खुसी सञ्चार भएको छ । नेपालका लागि यो युद्धविरामले निकै ठुलो आशा जगाएको छ ।
हमास समुहले दुई वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेका ४८ जना (२० जना जीवित) बन्धकहरुलाई आजबाट रिहा गर्न लागेपछि नेपालका विपिन जोशीलगायत इजरायली परिवार व्यग्रतासाथ आफ्ना परिवारका सदस्य फर्कने क्षणको प्रतीक्षामा छन् । इजरायल र हमासबिच युद्ध सुरु हुनुअघि नै १० जना नेपाली युवाले ज्यान गुमाइसकेका छन्
हमासको बन्धकमा रहेका जोशीको अवस्था दुई वर्षसम्म अज्ञात रहेपछि गत अगस्टमा उनका आमा र बहिनी पुष्पा जोशीले इजरायलमा नै पुगेर त्यहाँका उच्चपदस्थ अधिकारीसँग विपिनको रिहाइका लागि पहल गर्न अनुरोध गरेका थिए । उनीहरूले इजरायलका विभिन्न मञ्चमा पुगेर आफ्नो पीडा पोखेका थिए । उनीहरुले बन्धकमा रहेका इजरायलीका परिवारसँगै उभिएर तेलअभिभस्थित होस्टेज स्क्वायरमा पुगेर विपिनको रिहाइका लागि अपिल गरिरहँदा इजरायली जनताले पनि निकै आत्मीयतासाथ साथ दिएका थिए । विपिन अपहरणमा परेपछि उनी फर्किने आसमा परिवारले दुई वर्ष बिताइसकेको छ ।
हमासले बन्धक रिहा गरेपछि इजरायलले पनि लगभग दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्नेछ । बन्धक रिहाई कार्यक्रममा भाग लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इजरायल पुग्दैछन् । अमेरिकाबाट विमान चढ्नुअघि ट्रम्पले गाजामा युद्ध अन्त्य भएको र अब पूर्ननिर्माण सुरु हुने बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुका अनुसार रिहाइको समय निश्चित भएको छैन् ।




प्रतिक्रिया