काठमाडौं, असोज २७ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित नियमित महाधिवेशनमा जानुपर्ने बताएका छन् । पार्टीलाई एकताबद्ध गर्दै सङ्गठनलाई चुस्तदुरूस्त बनाएर महाधिवेशनपछि पार्टी नयाँ पुस्ताको नेतृत्वसहित जनतामाझ जाने उनको भनाई छ ।
रेडियो नेपाली नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा बोल्दै उनले अहिले पुराना नेताको नेतृत्वमा विशेष महाधिवेशन गर्नु भन्दा युवा पुस्ताको सहभागितामा नियमित महाधिवेशनमा जानुपर्नेमा जोड दिए ।
उनले भने, ‘देशलाई संकट परेको बेलामा कांग्रेस एकीकृत भएन भने झन कमजोर हुन्छ । कांग्रेसभित्र रहेका सबै पक्षहरु युवा, नयाँ, पुराना र जेनजी पुस्ताको भावनालाई समेटेर जान सकेनौ भने जनताको भावना र मन जित्न सकिदैन् । अहिले कांग्रेस कमजोर भएकै कारण देशमा संविधान सकिन लागेको, कानुनले नचिनेको व्यक्ति थर्काउदै तर्साएर हिडेका छन् । कांग्रेसले अहिलेको जनभावनालाई समेट्दै राजनीतिक अस्तिरताको अन्त्य गर्न जेनजी पुस्ताको भावनालाई समेटेर देशलाई निकास दिन कांग्रेस अघि बढ्नुपर्छ ।’
प्रहरीको बर्दी, हतियार लुटिएको र प्रहरी चौकीहरु जनाइएको अवस्थामा अहिले प्रहरी प्रशासनको मनोबल निकै कमजोर देखिएकाले शान्तपूर्ण, निश्पक्ष निर्वाचनको वातावरण बनाउन कांग्रेस मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ । पार्टीको विधान अनुसार सभापति शेरबहादुर देउवा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउँदै पुराना पुस्तालाई सम्मानजनक विदाई र नयाँलाई स्वागतसहित आवागमनको वातावारण बनाएर पार्टी अघि बढ्ने उनले बताए । मंसिरमा नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व र युवा सहभागीतासहित कांग्रेस निर्वाचनमा सहभागी हुने उनको भनाई छ ।




प्रतिक्रिया