मंसिरमा महाधिवेशन गर्नुपर्छ भन्ने प्रमुख प्रस्तावक नै केपी ओली हो, नेतृत्व परिवर्तनको कुरा मिडियाले गरेको डिजाईनमात्रै हो : गौतम


काठमाडौं, २७ असोज । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको पूनर्गठनको माग गर्ने नेताहरुलाई महाधिवेशनमा लगेर प्रतिनिधिहरुको बीचमा छलफल गराएर नेतृत्वको परीक्षण र नयाँ नेतृत्व छनोट गर्ने बताएका छन् ।

सचिवालय बैठकमा नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर धेरै नेताहरु उभिएको भन्ने कुरा मिडियाले गरेको डिजाईनमात्रै भएको गौतमको दाबी छ । आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सचिवालयका पाँच जना नेताहरुले नयाँ परिस्थितिमा नयाँ तवरले अघि बढौं भनेर भनेको सुनाए ।

सचिवालय बैठकले सर्वसम्मत् रुपमा आगामी मंसिरको अन्तिम साता ११औं महाधिवेशन गर्ने भनेर सर्वसम्मत् रुपमा निर्णय गरेको उनले बताए । केन्द्रीय कमिटीको बैठकलगत्तै पार्टी महाधिवेशनमा जुटेको उनको दाबी छ । उसो भए अब केपी शर्मा ओलीको ठाउँमा अब एमालेमा को आउँछ नेतृत्वमा भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘को आउँछ ? को आउँदैन ? को उम्मेद्वार हुन्छ ? तर, अध्यक्षका उम्मेद्वार साथीहरु महाधिवेशन फेश गर्न तयार भएर बस्नुपर्छ । महाधिवेशनले नेतृत्व छनोट गर्छ ।’

विद्यादेवी भण्डारीलाई पार्टीमा भित्र्याउने भनेर भयो अरे नि भनेर सोधेको अर्को प्रश्नमा उनले आश्चर्य प्रकट गरे । उनले थपे,‘होईन कसले गरेछ ? कहाँ गरिएको छ ? कुन कमिटीले निर्णय गर्ने ? केन्द्रीय कमिटी बसेको छैन । जुन कुरा निर्णय नै भएको छैन । छलफल नै भएको छैन् । यो विषयमा मिडियामा अनावश्यक रुपमा बहस गर्नुमा कुनै तुक छैन ।’