अधिवक्ता नेपालको नजरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्कीदेखि अख्यितार प्रमुख राईसम्म भ्रष्टाचारी, को कुन काण्डमा जोडिए ? (भिडिओसहित)


काठमाडौं, २७ असोज । अधिवक्ता स्वागत नेपालले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसम्मले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति पौडेलले स्वास्थ्योपचार वापतको खर्च राज्य कोषबाट गरेर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । त्यस्तै, प्रधानमन्त्री कार्की प्रधानन्यायाधीश रहेको बेलामा भएका गतिविधिमा उनले प्रश्न उठाए ।

अधिवक्ता नेपालले अख्तियार प्रमुख राई भने नक्कली भुटानी शरणार्थी प्रकरणका एक नम्बर भ्रष्टाचारी रहेको दाबी गरे । उनले यी व्यक्तिहरुविरुद्ध आफूले अदालतमा प्रमाणसमेत दिइसकेको बताए । ‘अख्तियारको प्रमुख भ्रष्टाचारी होइन ? मैले प्रमाण दिएको छ त अदालतमा । भुटानी शरणार्थी काण्डको एक नम्बर भ्रष्टाचारी । मैले प्रमाण दिएको छु अदालतमा । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार गरेको प्रमाण दिएको छु । खाँडीमा बसेर पठाएको पैसा उचार खर्च लुटेर, डकैती गरेर लिएको होइन । अदालतले म्याद पठाइसकेको छ । किन जवाफ नदिइ बसेको ?’ प्रश्न गर्दै उनले भने, ‘उनले उपचार खर्च कानूनविपरीत भ्रष्टाचार गरेर लिएका छन् । बालुवाटारको जमिन खाने कुरामा सहयोग गर्ने सूर्यनाथ उपाध्याय त्यतिबेलाको अख्तियारको प्रमुख र पाँच जना सर्वोच्चको न्यायाधीश यिनीहरुलाई पक्राउ गर्नुपर्छ । संगसंगै सुशीला कार्की स्वयंले गरेको भ्रष्टाचारको बारेमा छानविन हुनुपर्छ । उहाँ (कार्की) स्वयंले आफैं स्वीकार गर्नुभएका भ्रष्टाचारका तथ्यहरु सबै जगजाहेर छन् ।’

भ्रष्टाचारी राष्ट्रपति पौडेलबाट शपथ ग्रहण गरेर प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने कुरा कल्पना पनि गर्न नसकिने उनको भनाइ छ ।