नेपालमा युवा नेतृत्व : उमेर होइन क्षमता र दृष्टिको माग


विजय खड्का-

नेपालको राजनीतिक यात्राले धेरै उतारचढाव भोगिसकेको छ । परम्परागत राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको पनि दुई दशकभन्दा बढि भइसकेको छ। तर, आम नागरिकको जीवनस्तरमा अपेक्षित परिवर्तन अझै आएको छैन। अहिलेको अवस्थामा “युवा नेतृत्व’’ को माग निरन्तर बढिरहेको छ। तर केवल उमेरकै आधारमा युवा नेतृत्व खोज्नु पर्याप्त छैन। आजको नेपाललाई आवश्यकता छ दृष्टिवान्, सक्षम र अद्यावधिक नेतृत्वको।

२०७४ सालको स्थानीय तहको निर्वाचनअघि म पनि नागरिक समाजमा सक्रिय भएर १६ देखि ४० वर्षभित्रका युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने विचारको वकालत गर्दथें। २०७४ को स्थानीय तह निर्वाचनले देखाएको थियो, उमेरका आधारमा मात्रै उम्मेदवार उठाउनु पर्याप्त हुँदैन। आवश्यक हुन्छ दूरदृष्टि, क्षमता र इमानदारीको । तर चुनावमा जब केही व्यक्तिहरू उम्मेदवार बने, त्यहाँ मैले खोजेको दूरदृष्टि र क्षमतायुक्त नेतृत्व भेटिन सकेन। त्यसपछि मैले बुझें हामीलाई उमेरको मात्र आधारमा युवा नेतृत्व चाहिएको होइन, देश र समाजलाई बदल्ने दृष्टि र दीर्घकालीन योजनासहितको सक्षम युवा नेतृत्व चाहिएको हो।

नेपालको वर्तमान चुनौती केवल नयाँ पुस्ता भित्र्याउने होइन योग्य र सक्षम पुस्तालाई अघि ल्याउने हो। “सही ठाउँमा सही व्यक्ति’’ पुग्न सके मात्र राष्ट्र निर्माणको सपना साकार हुन्छ। त्यसैले नेपालको भविष्य उमेर होइन दृष्टि र क्षमतामा आधारित नेतृत्वमा निर्भर रहन्छ । युवाको सहभागिता राजनैतिक परिवर्तनमा सधैं महत्वपूर्ण रहि आएको छ र राजनीतिमा युवाको सहभागिता हुनु आवश्यक छ।

हो युवाहरूमा जोस छ । देशका लागि केही गरौं भन्न भाव छ र अहिलेको अवस्थामा राजनितिक दलसँग ठुलो वितृष्णा छ । परिवर्तन र प्रगति एकैदिनमा सम्भव हुँदैन। त्यसका लागि दीर्घकालीन सोच, योजनावद्ध कार्यान्वयन र सही नेतृत्व आवश्यक पर्छ। प्रणाली एकैदिन परिवर्तन हुँदैन, तर प्रणालीलाई पछ्याउँदै योग्य स्थानमा पुगेपछिमात्र प्रणालीलाई सुधार्न सकिन्छ। युरोप र अमेरिका आज समृद्ध छन् भने त्यो उनीहरूले सय वर्षअघि तयार पारेको योजना र त्यसको निरन्तर कार्यान्वयनकै कारण हो। त्यसैले नेपालमा पनि तत्कालिक भावनाभन्दा योजनाबद्ध तयारी र दूरदृष्टि आवश्यक छ।

विगतका नेतृत्वले राजतन्त्रविरुद्ध संघर्ष गरेर राजनीतिक उपलब्धि त दिलाए तर आज राजतन्त्र अन्त्य भएको दुई दशकभन्दा बढी भइसकेको छ। अब देशलाई अद्यावधिक सोच, नवीनतम दृष्टिकोण र सक्षम नेतृत्व आवश्यक छ। तर अहिलेको अवस्थामा ती नेतृत्वहरू पुराना भइसकेका छन भने राजनीति पार्टीमा व्यक्तिगत स्वार्थ र गुटबन्दी प्रवृत्ति हाबी छ । दलहरुमा ठेकेदार, दलाल, व्यापारी र पैसाको बलमा आएका व्यक्तिहरूको प्रभावमा छ। यसले राजनीति केवल पैसाकै खेल भएको छ भन्ने सोचलाई बल पु¥याएको छ। यी कारणले जनतामा राजनीतिक दलप्रति आस्था कमजोर हुँदै गएको छ। पार्टीभित्र नयाँ पुस्ताका नेताहरू उदाउन जरूरी छ ।

नेपालमा आजका युवा नेताहरुसँग न पार्टीलाई विश्व परिस्थितिअनुकूल नयाँ रणनीति र कार्यक्रम दिनसक्ने क्षमता छ न त राजनैतिक संस्था बनाएर गतिलो पार्टी दिने हिम्मत। तर पुरानालाई सरापेर युवाको नाममा उत्तेजक भाषण गरेर चर्चा कमाउनु हरेक युवा पंक्तिको दुव्र्यसन बनिसकेको स्थिति छ।

विपी कोईराला ३२ वर्षमा प्रधानमन्त्री बने र लोकतन्त्र स्थापनामा योगदान दिए। उनी नेपालका इतिहासमा सबैभन्दा कुशल र युवा प्रधानमन्त्रीमध्ये एक मानिन्छन्। मदन भण्डारी पनि चालिस मुनिको उमेरमा बहुदलीय जनवादको एजेण्डा अघि सारेर पार्टी नेतृत्वमा नयाँ दिशा दिए। विश्वमा पनि जसिन्डा अर्डर्न (३७ वर्ष, न्यूजील्याण्ड), इमानुएल म्याक्रोन (३९ वर्ष, फ्रान्स) र भ्लोदोमिर जेलेंस्की (लगभग ४० वर्ष, युक्रेन) ले युवा उमेरमा राष्ट्र हाँक्ने क्षमता देखाएका छन् ।

वि.स. २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये नेपाल सरकारको युवा नीति, २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या लगभग ४० प्रतिशत करिब १ करोड ६० लाख थियो भने २०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको युवाको जनसंख्या करिब १ करोड ३९ लाख ४८ प्रतिशत युवाहरू छन्।

२०७९ को निर्वाचनमा युवाको सहभागिता सबैभन्दा बढी स्थानीय तहमा (४१%), जबकी संघीयस्तरमा मात्र ११% जति युवाहरू निर्वाचित भए। नेपालमा आज धेरै सक्षम युवा छन्। उनीहरूले चाहे देशलाई नयाँ दिशामा लैजान सक्छन्। त्यसलाई वास्तविकतामा उतार्न सक्षम, इमानदार र दृष्टिवान् नेतृत्व अपरिहार्य छ।

भावनाले मात्र राष्ट्र चल्दैन, तर आम नागरिकले आफ्नो देशलाई विकसित भएको देख्ने चाहना राख्नु गलत पनि होइन। आज हामीलाई यस्ता नेताहरू चाहिन्छन्, जसले जनतालाई आशा दिन सकून् । देश विकास गर्ने योजना ल्याउन सकुन् । त्यो योजना कार्यान्वयन गर्न सकुन् । अपरिपक्व नेतृत्व देशका लागि घातक हुन्छ भन्ने कुरा आजको अवस्थाले प्रस्ट देखाइरहेको छ।

सक्षम नेतृत्वको खोजी, नयाँ पुस्ताको राजनीतिक उभार र ऊर्जा

नेपाललाई केवल नयाँ नारा होइन, सक्षम नेतृत्व र संस्थागत स्थायित्व चाहिएको छ। उमेर, पद वा प्रणाली भन्दा महत्वपूर्ण कुरा हो दृष्टि, क्षमता र जनताप्रतिको उत्तरदायित्व र राजनीति सुधारका लागि साँचो युवा नेतृत्व अपरिहार्य छ। अयोग्य नेतृत्वविरुद्ध र पार्टी सुधारका लागि, अब दलभित्रैबाट सक्षम युवा नेतृत्वको उदय हुनैपर्छ। देशको भविष्य सुरक्षित गर्न, जनताको आकांक्षा पूरा गर्न र राजनीतिक प्रणालीलाई शुद्धिकरण गर्न सक्षम, दृष्टिवान् र इमानदार युवा नेतृत्वको आवश्यकता अपरिहार्य छ।

हाम्रो पुस्तालाई छिटो विकास चाहेको छ, तर त्यसका लागि “सही ठाउँमा सही व्यक्ति’’ पुग्न जरुरी छ। नेपाललाई अब नयाँ पुस्ताको मात्र होइन, सक्षम र दृष्टिवान् पुस्ताको नेतृत्व चाहिएको छ। पुरानो प्रणालीलाई मात्र दोष दिएर बस्ने होइन, सही सोच भएका युवाहरूले राजनीतिमा प्रवेश गरेर समाजलाई नयाँ दिशा दिनुपर्छ। आजको आवश्यकता भनेकै “उमेर होइन, क्षमता र दृष्टि’’ मा आधारित नेतृत्व हो । समस्या उमेरको होइन, दृष्टिको हो।

नेतृत्वमा इमानदार दृष्टिवान् व्यक्ति नआएसम्म परिणाम उस्तै रहनेछ । यदि दलहरूले अझै पनि नयाँ पुस्तालाई अवसर दिएनन् भने, जनता स्वतःस्फूर्त रूपमा नयाँ विकल्प खोज्न बाध्य हुनेछन्। पुरानो नेतृत्वले जनतामा आस्था गुमाइसकेको छ।

लेखक खड्का नेपाली कांग्रेसका युवा नेता हुन् ।