सिंहदरबार जलाउनुपर्छ भनेर आह्वान गर्ने बालेनमाथि कारबाही गर्न नेविसंघ अध्यक्ष शेर्पाको माग


काठमाडौं, २७ असोज । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले सिंहदरबार जलाउनुपर्छ भनेर आह्वान गर्ने काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहमाथि कारबाही हुनुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनल बेलायतको एक उदाहरण दिँदै बालेनमाथि कारबाहीको माग गरेका हुन् ।

‘बेलायतमा त्यहाँका कन्सुलरकी श्रीमती लुसी कोनोली, जसले त्यहाँ आप्रवासीहरुको होस्टेललाई आगजनी गर्नुपर्छ भनेर स्टाटस दिँदैगर्दाखेरी त्यहाँको अदालतले उहाँलाई ३३ महिना जेल हाल्ने सजाय गर्यो । आज सिंहदरबार जाउनुपर्छ भनेर आन्दोलनको आह्वान गर्ने व्यक्तिलाई आज हामीले छानविनको दायरामा ल्याउने नल्याउने ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङको भूमिकामाथि पनि प्रश्न उठाए । गुरुङले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीदेखि प्रहरी प्रशासनलाई समेत चुनौति दिनेगरेको आफूले थाहा पाएको अध्यक्ष शेर्पाले बताए ।

‘आज एक जना व्यक्ति हामीले घुमिरहेको देखिरको छौं । मैले पनि केही समय अघिदेखि चिनेको सुदन गुरुङ । जसले आज खुलम्खुल्ला राष्ट्रपतिलाई चुनौति दिएको सुनिराखेका छौं, प्रधानमन्त्रीलाई चुनौति दिएको सुनिरहेका छौं । आईजीपीहरुलाई चुनौति दिएको सुनिराखेका छौं,’– उनले भने ।

साथै, उनले जेन–जीको नाममा भइरहेको अराजकता नियन्त्रण हुनुपर्ने आवश्यकता औंल्याए । उनले गृह प्रशासनले जेन–जीको नाममा भइरहेको अराजकता नियन्त्रण नगरे नेविसंघ अघि बढ्ने पनि चेतावनी दिए । उनले भने, ‘अब यही ढंगबाट कसैले अराजकता गर्छ भने, त्यो आराजकतालाई यदि गृह प्रशासनले कन्ट्रोल गर्दैन भने त्यो कन्ट्रोल गर्ने जिम्मा पनि नेविसंघले लिन्छ । यदि अराजकता मच्चाउनेहरु र गोली ठोक्न आदेश दिनेहरुलाई कानुनी कारबाही गर्नुपर्छ । नेपाल विद्यार्थी संघको बटम लाइन हो ।’