काठमाडौं, २७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले चिनियाँ नागरिक दावाजिन वाङलाई आफू सञ्चारमन्त्री भएको बेलामा चिनेको बताएका छन् । वाङ आफू सञ्चारमन्त्री भएको बेलामा फलफूल लिएर बधाई दिन आएको उनले बताए । उनलाई सोही बेलादेखि आफूले चिनेको महराले बताए ।
वाङले आफूलाई ‘फलफूल व्यापारी हुँ’ भनी बताएको र उनलाई फलफूल व्यापारीको रुपमा मात्र चिनेको उनले बयानका क्रममा उल्लेख गरेका छन् । चिनियाँ नागरिक वाङले गलैंचा, जडिबुटी, खाद्यान्न, विद्युतीय सामाग्री आदिको व्यापार गर्ने गरेको आफूलाई थाहा नभएको महराले बताएका छन् ।
वाङको व्यवसायमा आफ्नो कुनै पनि प्रकारको साझेदारी नरहेको पनि महराले खुलाएका छन् । प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसँग एक पटक कुराकानी हुँदा ‘सामान वैध हो कि अवैध हो, यदि वैध हो भने कानून बमोजिम के गर्न मिल्छ गरी दिनु’ समेत आफूले भनेको उनले स्वीकार गरेका छन् । ‘मेरो छोरा आउँछ, हेरी दिनु’ नभनेको उनको भनाइ छ ।
२०७९ पुस १० गते विदेश (दुबई) बाट ल्याएको ईलेक्ट्रिक सिगरेट ७३० थान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका कर्मचारीले नियन्त्रणमा लिएकोले चिनियाँ नागरिक वाङले आफूलाई फोन गरी ‘बिदेशबाट ल्याएको ईलेक्ट्रिक सिगरेट भन्सारमा रोकिएको छ, भनी दिनुपर्यो’ भनी बताएको पनि उनले उल्लेख गरेका छन् ।
‘उक्त सुनको अवैध पैठारी (तस्करी) मा मेरो कुनै पनि संलग्नता छैन। मैले मेरो परिवारका सदस्यहरुलाई कुनै राजनैतिक संरक्षण गरेको छैन । चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेटभित्र लुकाई छिपाई लिई आएको सुन अवैध रुपमा नेपाल भित्र्याउनको लागि मेरो कुनै लगानी छैन । अवैध सुन कारोबारमा मेरो लगानी छैन,’– महराले बयानको क्रममा भनेका छन् ।




प्रतिक्रिया