काठमाडौं, २९ असोज । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री शेरबहादुर तामाङले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको आवश्यकता औंल्याएका छन् । जेन–जी पुस्ताका मागहरु संसद्बाट नै सम्बोधन गर्न सकिने बताउँदै उनले अब २०६२/६३ को जनआन्दोलनपछि माओवादीलाई संसद्मा ल्याएजस्तैगरी जेन–जीहरुलाई पनि संसद्मा ल्याउन सकिने बताए । उनले त्यसका लागि समानुपातिक सांसदहरुको ठाउँमा जेन–जीबाट सहभागिता गराउन सकिने बताए । नेता तामाङले जेन–जी पुस्तालाई संसद्मा ल्याएर संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थातर्फ जानुपर्ने बताए । जेन–जी अहिले सडक न सरकारको भएको उनको भनाइ छ ।
‘विद्रोहमा संलग्न जेन–जी पुस्ताहरु बाहिर पर्यो । उनीहरु न त सरकार छन्, अहिले न त सडकमा ? आन्दोलन त एउटा समयमा भयो, सकियो त्यो त । सडकमा पनि छैन, सरकारमा पनि छैन, यस्तो स्थिति बन्यो । त्यसो भएको हुनाले जेन–जी पुस्ताले बुद्धि पुर्याउने हो भने अहिलेको संसद् पुनर्स्थापना गर्ने र २०६२/०६३ मा जसरी माओवादीलाई इन्डोर्स गरियो, अब जेन–जी पुस्ताको साथीहरु पनि त्यहाँभित्र प्रवेश गर्ने । अहिलेको समानुपातिक कोटालाई हटाइदिने, त्यसपछि त्यही संख्यामा जेन–जी पुस्तालाई संसद्मा सहभागी गराए के फरक पर्छ ? त्यही संसद्बाट संविधान संशोधनको बाटोमा अगाडि बढ्दाखेरी सजिलो बाटो हुन्छ होलाजस्तो लाग्छ,’– उनले भने ।
संसद् कायम राखेर, त्यो संसद्मा जेन–जी पुस्तालाई पनि सहभागी गराएर, संसद्मा राजनीतिक दलहरुको बीचमा एकमत बनाएर संविधान संशोधन आजको आवश्यकता रहेको उनले बताए । नेता तामाङले अहिले बनेको सरकार र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको बताए । आन्दोलन र विद्रोहपछि बन्ने सबै सरकारहरु असंवैधानिक नै हुने उनको भनाइ छ । उनले अब संसद् विघटनविरुद्ध अदालतमा मुद्दा परिसकेको र त्यसको व्याख्या पर्खिनुको विकल्प नरहेको बताए ।
‘हरेक आन्दोलन, क्रान्ति असंवैधानिक नै हुन्छ । वर्तमान संविधान र कानूनकै खिलाफमा आन्दोलनहरु हुने भएकाले अहिलेको विद्रोहबाट बनेको सरकार पनि असंवैधानिक हो । हिजो हामीले राजनीतिक आन्दोलन गर्दैगर्दा आन्दोलनबाट स्थापित सरकार पनि हिजोको संविधान र कानूनको विरुद्धमै हो । यो असंवैधानि हो भन्ने हाम्रो दृष्टिकोण हो । किनभने संविधानअनुसार यो बनेको छैन । असंवैधानिक सरकारले संविधानअन्तर्गतका संस्थाहरुको विघटन गर्ने कुरा पनि असंवैधानिक हो भन्ने हाम्रो दृष्टिकोण हो । मुद्दाहरु परेका छन् । अदालतले कस्तो व्याख्या गर्छ भन्ने हेर्न बाँकी छ,’– उनले भने ।




प्रतिक्रिया