पोखरा र बागलुङको मानवसेवा आश्रमको भवन निर्माणमा बजेट अभाव


गण्डकी, २९ असोज । ‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यसहित मानवता प्रवद्र्धन महाभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका भवन निर्माणमा बजेट अभाव भएको छ ।

विसं २०७५ चैतदेखि निर्माण सुरु गरिएको कास्की र विसं २०७७ देखि निर्माण थालिएको बागलुङस्थित आश्रमको भवन निर्माण अझै सकिएको छैन ।

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा बनिरहेको भवनको बाहिरी संरचना तयार भए पनि शौचालय, पर्खाल, फर्निचर, रङरोगन, पलम्बिङ आदिको काम बाँकी रहेको आश्रमका केन्द्रीय सदस्य सदिस पुनले बताए । “लागत योजनाअनुसार काम सक्न अझै रु एक करोड बजेट अपुग छ”, उनले भने, “आश्रम निर्माणमा तीनै तहका सरकार र दाताहरूले आर्थिक सहयोग गर्नुभएको छ ।”

दुई वर्षअघि भवन निर्माणका लागि पोखरा महानगरपालिकाले ७१ लाख उपलब्ध गराएको थियो । सोही वर्ष आश्रमले सञ्चालन गरेको महायज्ञबाट तीन करोडबढी आर्थिक सङ्कलन भएको केन्द्रीय सदस्य पुनले बताए । पाँच लाख ११ हजार १११ सहयोग गर्ने दाताको नाममा कोठाको नामाकरण गरिने भएपछि २० भन्दा बढी त्यस्ता सहयोगीहरू जुटेको उनको भनाइ छ । १० करोडको लागतमा उक्त भवन बन्न लागेको केन्द्रीय सदस्य पुनले बताए ।

चालु आवमा पोखरा महानगरपालिकाले ३५ लाख बजेट छुट्टाए पनि ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बजेट प्राप्त हुने÷नहुने अन्योल देखिएको उनको भनाइ छ । आश्रमको हेम्जा र छोरेपाटन गरी कास्कीमा दुईवटा सेवाकेन्द्र छन् । छोरेपाटन सेवाकेन्द्रमा महिला मात्र आश्रित छन् । सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र जीवनरक्षामा आश्रम क्रियाशील छ ।

आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर, सडकआश्रित मानवहरूको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । सुविधायुक्त भवन बनेपछि आश्रमको सेवामा सहजता थपिने केन्द्रीय सदस्य पुनले बताए । भवन निर्माणमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरलगायत सरकारी निकाय, सङ्घसंस्था र दाताहरूको हातेमालो रहेको उनको भनाइ छ ।

बजेट अभावमा बागलुङको आश्रममा पनि भवन निर्माण कार्य रोकिएको उक्त आश्रमका संयोजक विपना तामाङले जानकारी दिए । १२ करोड ७५ लाखको लागत योजनासहित उक्त आश्रमको भवन निर्माण सुरु गरिएको थियो । “भवनलगायतका संरचना निर्माणमा थप पाँच करोड बजेट लाग्ने अनुमान गरिएको छ”, उनले भने, “यस वर्ष स्रोत जुटाउने कुरामा चुनौती थपिएको छ, सङ्घ सरकारले दिने भनेको बजेट कटौती हुने सम्भावना छ ।” भवन निर्माणमा अहिलेसम्म झण्डै पाँच करोड खर्च भइसकेको जनाइएको छ ।

प्रदेश सरकारलगायत अन्य सरकारी निकायबाट चालु आवमा बजेट विनियोजन नभएको संयोजक तामाङले बताए । आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि बजेट अभावकै कारण तोकिएको समयमा भवन बन्ने अवस्था नरहेको उनको भनाइ छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मल श्रेष्ठले भवनको ६० प्रतिशत भौतिक प्रगति भएको बताए । “भवन निर्माणका लागि बाँकी स्रोत जुटाउन आगामी कात्तिकमा महायज्ञ लगाउने तयारीमा छौँ”, उनले भने ।

बागलुङको आश्रम निर्माणमा प्रदेश सरकार, बागलुङ नगरपालिकासहितका स्थानीय तहलगायत विभिन्न सङ्घसंस्था र दाताहरूको सहयोग रहेको अध्यक्ष श्रेष्ठले बताए । अहिले बागलुङ बजारको अस्थायी संरचनाबाट आश्रम चलिरहेको छ । साँघुरो ठाउँबाट आश्रम सञ्चालन गर्नुपर्दा व्यवस्थापनमा जटिलता रहेको आश्रमका संयोजक तामाङले बताए ।

परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेकाहरूको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरूको पहलमा विसं २०७२ मा बागलुङमा आश्रम खोलिएको थियो । आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ ।

अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिसकिएको र कैयनको परिवारसँग पुर्नमिलन भएको सो आश्रमका संयोजक तामाङले बताए । बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएपछि दुई वर्षअघि आश्रमको भवन निर्माण सुरु भएको थियो । तीनतले उक्त भवन पनि दुई सय क्षमताको रहने संयोजक तामाङले बताए । उक्त भवनमा योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष रहने जनाइएको छ । रासस