विपिन जोशीको निधनले एनआरएनए परिवारलाई मर्माहत र स्तब्ध बनाएको छ : अध्यक्ष केसी


काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको क्रममा हमासको अपहरणमा परेका विपिन जोशीको निधनको खबरले सिंगो एनआरएनए परिवारलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् । केसीले आज एक विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

उनले भनेका छन्,‘कञ्चनपूर भीमदत्त नगरपालिकाका विपिन जोशीको निधनको खबरले गैरआवासीय नेपाली संघ ९एनआरएनए० परिवारलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि आमा पद्यमा र बहिनी पुष्पाले गरेको अथक प्रयासका दौरानमा गैरआवासीय नेपाली संघ तथा राष्ट्रिय समन्वय परिषद् इजरायल, तथा यूएसएले समेत सहजीकरण गरेका थिए ।’

जोशीको निधनले सम्पूर्ण नेपाली समुदायले एक होनहार सुपुत्र गुमाएको अनुभूति गरिरहेको पनि केसीले उल्लेख गरेका छन् । उनले विपिन जोशीको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल गर्न समेत अनुरोध गरेका छन् ।