आज देशका केही स्थानमा  हल्का वर्षाको सम्भावना


काठमाडौं, ३० असोज । देशका केही पहाडी क्षेत्रमा आज हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने अनुमान गरिएको हो।

सातै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। राति देशभर मौसम सामान्य र मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको स्पष्ट गरिएको छ।