काठमाडौं, ३० असोज । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बाध्य भएर कांग्रेस महाधिवेशनमा जानुको विकल्प नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब नियमित महाधिवेशनमा जानुको विकल्प नरहेको बताएका हुन् । उनले एमाले–माओवादीलगायतका प्रतिस्पर्धी दलहरुले मंसिरमा महाधिवेशन गर्न सक्दा कांग्रेसले पनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने बताए । अब विधानले दिएको एक वर्षे सुविधा लिएर महाधिवेशन सार्न नहुने बताए ।
‘बाध्य भएर हामीले यही मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने अवस्था आयो । अरु पार्टी, हामीसँगै प्रतिस्पर्धी पार्टीहरुले मंसिरमा धमाधम महाधिवेशन गर्न सक्ने, अनि हामी गर्न नसक्ने भन्ने कुरा हुन्छ । हाम्रो पनि अब द्रुततर गतिमा एक वर्षमा गर्नुपर्ने काम दुई महिनाभित्रमा गर्नुपर्यो,’– उनले भने ।
साथै, उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारीलाई कारबाही गर्न तत्परता देखाएको र त्यो कुरा स्वागतयोग्य रहेको बताए । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्न नमिल्ने बताए । ‘संविधानवादको चस्मा लगाएर हेर्ने हो भने असंवैधानिक हुन्छ । तर, परिस्थितिजन्य चस्मा लगाएर हेर्यो भने यसलाई अवैधानिक भन्न मिलेन । यो परिस्थितिले जन्मिएको सरकार हो । संविधानको धाराबाट जन्मिएको सरकार होइन । परिस्थितिजन्य अवस्थाबाट जन्मिएको सरकारलाई हामीले संविधानवादको चस्मा लगाएर हेर्नुभन्दा परिस्थितिजन्य अवस्थाको चस्मा लगाएर हेर्नुपर्छ,’– उनले भने ।
सरकारलाई आगामी फागुन २१ गतेको निर्वाचनसम्म पुर्याउनका लागि सबै पक्ष, सबै दल मिलेर सहयोग गर्नुपर्ने उनले बताए । सुशीला कार्की र निर्वाचन आयोगले मात्रै चाहेर निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन नसकिने र सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए ।




प्रतिक्रिया