मधेशका मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं, ३० असोज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बिहीबार) एक समारोहबीच मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल ५ दलका ५६ सांसदको समर्थनमा हिजो (बुधबार) मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभाको दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस इतरको गठबन्धनबाट मधेशमा सरकार बनेको हो । सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ । कूल १०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक छ ।