नारायणकाजीको नयाँ अपिल : नयाँ चेतना ग्रहण गरौं र नयाँ आवश्यकता अनुसार अघि बढौं


काठमाडौं, ३० असोज नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ चेतना ग्रहण गर्न र नयाँ आवश्यकताअनुसार अघि बढ्न अपिल गरेका छन् । उनले त्यसको लागि सबै देशभक्त र सुशासन एवं सुमृद्धिको लक्ष्यप्रति इमानदार जनपक्षीय शक्तिहलाई एकताबद्ध हुन भनेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत श्रेष्ठले यस्तो अपिल गरेका हुन् । उनले मुलुक यतिवेला धेरै नै अप्ठ्यारो अवस्थामा रहेको चित्रण गरेका छन् । उनले लेखेका छन्–‘हाम्रो मुलुक यतिबेला धेरै नै अप्ठेरो अवस्थामा छ ।राष्ट्रिय सार्वभौमिकता , नेपाली जनताको सम्प्रभुता , राष्ट्रिय एकता , लोकतन्त्र ,सुशासन र समृद्धि लाई केन्द्रमा राख्दै र जेन-जी पुस्ताको पछिल्लो विद्रोहात्मक आन्दोलनको मर्म र भावलाई समेत आत्मसात गर्दै सम्पूर्ण देशभक्त र सुशासन एवं समृद्धिको लक्ष प्रति इमान्दार जनपक्षीय शक्तिहरू एकताबद्ध होऔं । नयाँ चेतना ग्रहण गरौं र नयाँ आवश्यकता अनुसार अघि बढौं ।’