मंसिरभित्रै नियमित महाधिवेशन गरेर चुनावमा जान्छौंः कांग्रेस नेता विश्वकर्मा (भिडिओसहित)


काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरभित्रै सम्पन्न गरेर पार्टीभित्र एकता कायम गर्दै फागुनको निर्वाचनमा जाने बताएका छन् । जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंसिरभित्रै एकताको महाधिवेशनको रुपमा नियमित महाधिवेशन सम्पन गरेर बदलिदो समयमा पार्टीलाई बलियो र शक्तिशाली बनाएर निर्वाचनमा जानेबारे छलफल भइरहेको उनले बताए ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले पार्टीलाई प्रभावशाली, क्रियाशील र गतिशील बनाउनुपर्ने जिम्मेवारी रहेकाले वडादेखि केन्द्रसम्म पार्टीलाई पुर्नताजगी बनाउने जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘महाधिवेशनको कार्यतालिकाबारे केन्द्रिय कार्यसमितिको बैठकमा छलफल भइरहेको छ । अहिले केहीको ध्यान निर्वाचन अधि नै महाधिवेशन गर्नुपर्छ भन्ने छ भने केहीलाई महाधिवेशनको प्रतिस्पर्धाले निर्वाचनलाई असर पुग्छ कि भन्ने छ । तर, विधान अनुसार म्याद थप नगरिकन तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न सबैले सुझाव दिएका छन् । मसिंरको आसपासमै महाधिवेशन सम्पन्न गरेर परिस्थिति अनुसार पार्टीलाई बलियो र शक्तिशाली बनाएर जनादेशमा जानुपर्छ ।’

मंसिरभित्र निर्वाचन गराउने सक्ने आधारको रुपमा केन्द्रिय कार्यसमितिको बैठकमा कार्यपत्र प्रस्तुत भइरहेको उनले बताए । निर्वाचनपछि महाधिवेशन गर्ने कुरासमेत उठ्ने गरेको भन्दै उक्त विषय संविधान र कानुनी रूपबाट सम्भव नै नभएको उनको भनाई छ ।अहिले १३ देखि २८ उमेर समुहको जेनजी पुस्ताको मागअनुसार पार्टीले विधानमै व्यवस्था गरेर १५ प्रतिशत युवा पुस्ताको प्रतिनिधित्वलाई अनिवार्य गरेको उनले बताए ।