बास्कोटाले ओलीलाई सोधेः विद्या भण्डारीको पार्टी सदस्यता किन रोकेको ? हाम्रो असहमति छ


काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोकिएको बारेमा असन्तुष्टि जनाएका छन् । पार्टीको जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता रोकेकोप्रति आफूहरुको असन्तुष्टि रहेको बताएका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित गर्दै भण्डारीको सदस्यता रोक्न नमिल्ने बताए ।

‘विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको ? अध्यक्षले किन रोकेको ? विद्याको सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति हो,’– नेता बास्कोटाले भने ।

नेता बास्कोटाले पार्टी नेतृत्वमा दुई कार्यकालको व्यवस्था अध्यक्ष ओलीले नै लडेर ल्याएको स्मरण गराउँदै अब नेतृत्व छाड्दा उचित हुने सुझाव दिए । महाधिवेशन आइसकेको उल्लेख गर्दै उनले अब नेतृत्वको छिनोफानो हुने बताए । ‘२ कार्यकाल तपाईँले लडेर विधानमा राखेको हो, त्यसमा अडिनुस्,’– उनले भने ।