काठमाडौं, ३१ असोज । जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टि विभाजनमाथि चुनौति दिँदै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश तिल प्रसाद श्रेष्ठको इजलासले सो मुद्दामा अन्तरिम आदेशका लागि आगामी कात्तिक १७ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
छलफलभन्दा पहिला निर्वाचन आयोगले गत असोज २८ गते दल दर्ता गर्नेगरी गरेको निर्णय कार्यान्वयन नगर्न÷नगराउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, ‘छलफल भई अन्यथा आदेश नभएसम्म जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने गरी निर्वाचन आयोगबाट मिति २०८२।०६।२८ मा भएको निर्णय र सो निर्णयानुसार लेखिएको च.नं.९६ प.सं.०८२/८३ को पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरी दिएको छ ।’
जनमत पार्टीबाट बाहिरिएका असन्तुष्ट पक्षहरुले दीपककुमार साहको अध्यक्षतामा जनस्वराज पार्टी दर्ता गरेका थिए ।





प्रतिक्रिया