कांग्रेसले जेन-जी पुस्ताको माग र उर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न सक्दैनः डा.डिला संग्रौला


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र उर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छन् । शुक्रबार सानेपामा जारी केन्द्रीय समितिको बैंठकमा बोल्दै उनले जेनजीहरुको माग र भावनाअनुसार पार्टीलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताईन् ।

‘हालै, नेपाली कांग्रेसका जेनजी युवाहरूले देशमा सुशासन र पार्टीभित्र समयानुकूल परिवर्तनको स्पष्ट सन्देशसहित ९ बुँदे अपिल सार्वजनिक गरेका छन्। उनीहरूको यो अपिल, कुनै आग्रह होइन, बरु परिवर्तनको अनिवार्य आवश्यकता बोकेको एउटा सचेत आवाज हो। उहाँहरू भन्नुहुन्छः ‘सबै बदलिऔं, सबै मिलेर देश बदलौँ।यो आह्वानलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ,’ – संग्रौलाले भने ।

डा.संग्रौलाले देशभरका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राखिसकेकाले अब मंसिरभित्रै नियमित महाधिवेशन गर्नका लागि निर्वाचन कार्य तालिका सार्वजनिक गर्नुपर्ने बताईन् ।

‘देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई निवेदन बुझाइसकेका छन् । उनीहरुको भावनाको सम्मान गर्दै परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ उर्जाका साथ अघि बढ्न, हामीले आउँदो मंगसिर महिनाभित्रै नियमित १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । सो महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेको उपलब्धिको समीक्षा गर्नुका साथै कमीकमजोरीबारे व्यापक समीक्षा गरिनुपर्ने उनले बताईन् ।

कांग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनीतिक परिस्थितिका आधारमा एक पटकका लागि आम माफी दिन समेत उनले प्रस्ताव गरिन् ।

त्यस्तै उनले फागुन २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुकअर्को संवैधानिक तथा सुरक्षा संकटमा फस्ने निश्चित भएकाले निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेसले अग्रसरता लिनुपर्ने धारणा राखिन् ।

उनले मुलुकको परराष्ट्र नीति बलियो हुनुपर्ने भन्दै हालसम्म अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री नियुक्ति गर्न नसक्नु दुःखद् भएको पनि बताईन् । कांग्रेसले काठमाडौँस्थित सबै कुटनीतिक निकायका प्रतिनिधिहरुलाई निम्तो गरेर पार्टीको परराष्ट्र नीतिको बारेमा स्पष्ट पार्न पनि आग्रह गरिन् ।