काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कृपासुर शेर्पाले पार्टीमा अहिले केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय फेसभ्यालुको आधारमा पनि ओली एमालेको नेतृत्वमा रहनुपर्ने बताएका हुन् । उनले भने, ‘अहिलेको हकमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, अखण्डता, सार्वभौम सत्ता र अन्तर्राष्ट्रिय रुपमा उहाँको फेस भ्यालु हेरेर केपी ओलीको विकल्प छैन । अहिले छैन । राजनीतिमा बुढाखाडा भन्ने हुँदैन । उसको मिसन, भिजन, एक्सन के छ, त्यो हेर्ने हो,’– उनले भने ।
एमालेजस्तो जीवन्त पार्टीमा इतिहास बोकेका नेता तथा कार्यकर्ताको सहभागिता रहनुलाई स्वभाविक मान्नुपर्ने उनको भनाइ छ । एमालेको त्यत्रो ठूलो कमिटीमा ५÷७ जनाले ओलीको विरोधमा आउनुलाई बहुमत मान्न नसकिने उनले बताए । अध्यक्ष ओलीलाई हटाउन आवश्यक भएमा विधि र पद्धतिद्वारा अधिवेशन वा राजीनामाको मार्फत हटाइनुपर्ने उनले बताए ।
जेन–जी पुस्ताले उठाएका केही कुराहरु स्वीकारयोग्य भए पनि कुन पार्टीमा को नेता राख्ने भन्ने अधिकार नरहेको उनले बताए । पार्टीभित्रकै आम कार्यकर्ताले नेतृत्वको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । गत भदौ २४ गते भएको आगजनीमा जेन–जीहरुको सहभागिता नरहेको उनले बताए । घुसपैठको आधारमा आगजनी भएकाले उनले दाबी गरे । जेन–जीको काँधमा बन्दुक तेर्स्याएर हान्नेहरुले घुसपैठ गरेको नेता शेर्पाको दाबी छ ।
साथै, उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले सदस्यता नदिने बताए । भण्डारीले एमालेको सदस्यता त्यागेर आम नागरिकको रुपमा राष्ट्रपति बनेको बताउँदै उनले अब एमालेको सदस्यता पाउन त्यती सजिलो नरहेको बताए । राष्ट्रको संरक्षक भइसकेको मान्छे अब एमालेको झोले बन्न आउन नहुने उनले बताए ।




प्रतिक्रिया