सरकार ओलीमाथि झुठा मुद्दा चलाउने र गिरफ्तार गर्ने दुष्प्रयासमा रहेको एमालेको निष्कर्ष


काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) ले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झुठा मुद्दा चलाउने र गिरफ्तार गर्ने दुस्प्रयास गरिरहेको बताएको छ । गत बुधबारदेखि शुक्रबारसम्म ललितपुरको भनिमण्डलमा बसेको एमालेको केन्द्रीय समिति बैठकले निर्वाचनको कार्यादेश प्राप्त गरेको वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेतिर नभएरअनिर्वाचित सत्ता लम्ब्याउँने र त्यसका लागि नेताहरु विशेष गरी ओलीलाई विभिन्न मुद्दामा फसाउने दुष्प्रयासमा रहेको निष्कर्ष निकालेको हो । ‘पार्टीहरुका र खास गरी हाम्रो पार्टीका अध्यक्षमाथि झुठा आरोपमा मुद्दा चलाउन र जसरी भए पनि गिरफ्तार गर्ने दुष्प्रयाशमा सरकार लागिरहेकै छ,’– एमालेको केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ ।

सरकारले निर्वाचनको मूल पक्षका रुपमा दलहरुसँग संवाद, परामर्श र सहकार्य गर्नुपर्नेमा सम्पर्कसमेत नगरेको एमालेको भनाइ छ । सरकार उल्टै निषेध र मुठभेडको बाटोमा हिँडिरहेको एमालेको निष्कर्ष छ । नेताहरुलाई स्थान हद तोक्ने, राहदानी रद्द गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई निषेध गर्ने, मिडिया ट्रायल गर्दै चरित्र हत्या गर्नेजस्ता काम सरकारले गरिरहेको एमालेको पारित प्रस्तावमा उल्लेख छ ।

अहिले सरकारको संरक्षणमा रहेका सन्देहास्पद पात्रहरु खुलेआम राजनीतिक नेताहरुमाथि भौतिक हमलाका लागि दुरुत्साहन गर्ने, पार्टीहरुलाई चुनावमा भाग लिन नदिने, उनीहरुले जिते परिणाम खारेज गर्ने र नेताहरुलाई विभिन्न मुद्दा लगाएर बाहिरैनिस्कनै नदिने धम्की दिँदै हिँड्दा पनि सरकार मौन रहेको एमालेले बताएको छ ।

निर्वाचन पनि हुन नसक्ने र प्रतिनिधिसभा पनि कायम नरहेको वर्तमान अवस्थाले राजनीतिक रिक्तता र अस्थिरताको भयावह अवस्था सिर्जना गर्ने एमालेको निष्कर्ष छ । एमालेले असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने बताएको छ । संसद् पुनर्स्थापना गरेरमात्रै मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सकिन्छ भन्ने एमालेको मान्यता रहेको छ ।