सुशीला कार्कीको हुती हेरेर केपी ओलीले चुनावमा भाग लिन्नँ भनेर चूनौति दिन थालेः प्रभु साह


काठमाडौं, १ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप लगाएका छन् । वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको उनको दाबी छ ।

विराटनगरमा आज (शनिबार) आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने संकेत देखिएको भन्दै निर्णायक संघर्षमा होमिनको लागि न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई अपिल गरे । उनले वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनको लागि बनाईएको भएपनि अहिले सरकारले जथाभावी हात हाल्न थालेको र त्यसको उपज राजदूतहरु अकारण फिर्ता बोलाईएकोमा आक्रोश पोखे ।

उनले भने,‘इलेक्सनको म्याण्डेट लिएर बनेको अहिलेको सरकार आफ्ना आसेपासे र भरौटेहरुलाई फेरि राजदूत बनाउनको लागि सक्रिय भयो । म यही कार्यक्रमबाट भन्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईं इलेक्सनमा ध्यान दिनुहोस, यो राजदूतहरु सेलेक्सनमा होईन ।’

राजदूत फिर्ता बोलाउँदापनि भारतका लागि नेपाली राजदूतलाई फिर्ता नबोलाउनुको कारण पनि उनले प्रधानमन्त्री कार्कीसमक्ष सोधेका छन् । ,‘भारतका लागि नेपाली राजदूतमा के त्यस्तो क्षमता र गुण रहेछ । उहाँ सबैको प्रिय भइराख्नुपर्ने, रोचक त यो छ कि भारतका लागि अहिलेको राजदूतलाई आरजु राणाको आशीर्वाद छ भनिन्छ । अहिले सुशीला म्याडमपनि आरजुरको खातिरदारीमा लाग्नुभएको हो र ? होईन भने किन यो तहको अरितक्ति मोह र सम्मान देखाउनुभयो ?’

पूर्वमन्त्री साहले एमाले चुनावदेखि डराएर भाग्न खोजेको भन्दै जनताको अदालतमा उभिन डराउनेहरु कहिल्यैपनि असल राजनीतिक नेतृत्व हुन नसक्ने टिप्पणी गरे । एमालेको हिजो सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा पूनःस्थापनाको लागि जनपरिचालन गर्ने निर्णय लिएको र २१ फागुनको निर्वाचनमा भाग नलिने अध्यक्ष ओलीको उद्घोष थियो । साहले ओलीले आफ्नो अपराधको ढाकछोप गर्नको लागि सिंगो पार्टीलाई नै दाउमा लगाएको भन्दै चुनाव भाँड्ने कुचेष्टा नगर्न चेतावनी दिए । उनले सिंगो एमाले पँक्तिलाई देशलाई थप असफल बनाउनबाट बचाउनको लागि पनि चुनावको पक्षमा दृढताका साथ उभिन अपिल गरे । एकातिर अध्यक्ष ओलीले चुनावमा भाग नलिने निर्णय लिएको भएपनि अर्कोतिर एमाले नेताहरु शितलनिवास र निर्वाचन आयोगतिर चुनावी तयारीको लागि डाकिएको बैठकमा भाग लिने गरेको भन्दै यस्तो दोहोरो चरित्र नदेखाउन ओलीलाई आग्रह गरे ।

उनले वर्तमान सरकार चुनाव गराउने दिशामा नदेखिनु र आवश्यक तयारीसमेत नगरेको बेलामा एमालेले चुनावमा भाग नलिने भनेर घोषणा गर्नुमा षड्यन्त्रको गन्ध देखिएको आरोप लगाए । वर्तमान सरकार केपी ओलीकै सिफारिशमा बनेकोले यो सरकारलाई एमालेले असंवैधानिक भनेर भन्न नमिल्नेपनि साहको भनाई छ । उनले भने,‘मैले अस्ति काठमाडौंमा बृहत्त पत्रकार सम्मेलनमा पनि यो सरकारको कसरी जन्मियो भनेर प्रष्टसँग भनिसकेको छु, सुशीला कार्की मुख्यतय बालेन शाह र केपी ओलीको कारण प्रधानमन्त्री हुनुभएको हो, बालेनको प्रस्ताव र केपी ओलीको समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको छ, अनि अहिले आएर केपी ओलीले असंवैधानिक भन्न मिल्छ ? राष्ट्रपतिजीले सुशीलालाई प्रधानमन्त्री बनाउनको लागि केपी ओलीले दिएको लिखित सिफारिशपत्र सार्वजनिक गर्नुपर्छ ।’

प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुसँग दूरी राखेर गलत गरेको पनि साहको आरोप छ । उनले भने,‘अहिले प्रधानमन्त्रीले दलहरुसँग सम्वाद नै नगर्ने कसम खाएकोजस्तो देखिन्छ, उहाँले ब्लण्डर गर्दै हुनुहुन्छ, चुनाव गराउने म्याण्डेट बोकेको प्रधानमन्त्रीले यसरी दलहरुसँग दुरी बनाउन मिल्छ रु उहाँ आँफै राजनीतिक व्यक्तित्व हो नि, प्रधानमन्त्री बन्ने, सुखसुविधा भोग गर्ने अनि दलहरुसँग सम्वाद गर्दिनँ भन्न मिल्छ रु कदापि मिल्दैन ।’

उनले चुनावी तयारीको नाममा अनावश्यक नाटकमञ्चन गर्न बन्द गर्न र शितलनिवासमा तमाशा देखाउने काम नगर्न प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् । कार्यकारी भूमिका लिएको प्रधानमन्त्रीले दलका नेताहरु, जेनजीका प्रतिनिधिहरुसँग दिनहुँ शितलनिावसमा वार्ता गर्नु अशोभनीय भएको उनको आरोप छ । उनले भने,‘चुनावी तयारी, जेनजीहरुसँगको सम्वाद सबै बालुवाटारमा गर्नुहोस, शितलनिवास र निर्वाचन आयोग देखाएर दलहरुसँग दूरी कायम राख्ने काम नगर्नुहोस, तपाईंले नचाहेरपनि जनताले अब चुनाव चाहिसकेका छन् । यो सरकारलाई कान समातेर पनि अब हामी चुनाव गराउन लगाउँछौं ।’

सुशीला सरकारमा सहभागीहरुको अनुहार हेर्दा नै देशको मुहार नफेरिने निश्चित् रहेको उनको दाबी छ । ‘को कसरी मन्त्री भए भन्ने कुरा नेपाली जनतालाई केही थाहा छैन, फुत्त फुक्त ल्याएर मन्त्री बनाईएको छ, एक महिना भन्दा बढि समय व्यतित भइसक्यो, बाँकी मन्त्री नियुक्त हुन सकेको छैन, सुशीला कार्की आँफैमा प्लेयर देखिनुभएन, उहाँलाई कसैले निर्देशन दिएको होला, होईन भने एक महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्दैन् रु’–साहको आक्रोश थियो ।

देशलाई शक्ति राष्ट्रहरूको खेल मैदान बनाउन खोजिएको भन्दै सबै दलमा भएका राम्रा र सच्चा क्रान्तिकारीहरुबीचको मोर्चाबन्दी र एकता आवश्यकता रहेको पनि साहले औंल्याएका छन् । उनले भने,‘देश अहिले संकटको भूमरीमा फसेको छ । यसबाट बाहिर निकाल्नकोलागि सबै दलमा भएका राम्राहरुबीच सहकार्यको आवश्कता छ । कांग्रेस, एमालेमा भएका राम्राहरु यसरी गलत नेतृत्वको पछि सती नजानुहोस, आफ्नो विवेक प्रयोग गर्नुहोस, देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनतामा संकट देखिएको छ । सबै मिलेर सामना गर्नुपर्छ ।’

देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले राम्रो सुझबुझ देखाउन नसकेको र राजनीतिक प्रतिशोधमो उत्रिन खोजेको आभाष हुन थालेको भन्दै साहले आलोचना गरे । अध्यक्ष साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको म्याण्डेटमा ध्यान दिन भन्दै अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा नलाग्न पनि चेतावनी दिए । उनले देशको गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो सजिलो नहुने भन्दै समयको गम्भीरतालाई ध्यान दिएर चुनावको वातावरण बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्न गृहमन्त्रीलाई सुझाव दिए ।