पुरानै घर फर्किन एकीकृत समाजवादीका नेताहरुलाई एमालेको आग्रह, ससम्मान स्वागत गरिने सन्देश


काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) ले विगतमा पार्टी निर्माणमा योगदान गरेका र विभिन्न कारणले अहिले पार्टी बाहिर रहेका सबैलाई पुरानै घर फर्किन आग्रह गरेको छ । एमाले केन्द्रीय कमिटीको बैठकले प्रस्ताव पारित गर्दै विगतमा एमाले छाडेकाहरुलाई पुरानै घर फर्किन आग्रह गरिएको हो ।

नेकपा (एकीकृत समाजवादी) लक्षित गर्दै एमालेले पूरानो घर फर्किन आग्रह गरेको हो । ‘सिङ्गो राष्ट्र नै असामान्य सङ्कटबाट गुज्रिरहेको यस घडीमा केन्द्रीय कमिटीको यो बैठक विगतमा नेकपा (एमाले) मा रहेर पार्टी निर्माणमा योगदान गर्नुभएका र विभिन्न कारणले अहिले पार्टी बाहिर रहनुभएका सबै कमरेडहरुलाई घर फर्किन आह्वान गर्दछ,’– एमाले केन्द्रीय समिति बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।

पुरानै घर फर्किने नेता तथा कार्यकर्तालाई ससम्मान पार्टीमा स्वागत गर्न तयार रहेको पनि एमालेले बताएको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी यतिबेला एकताको पक्षमा उभिएको छ । समाजवादी मोर्चामा रहेको माओवादी, नेपाल कम्युनिष्ट पार्टीलगायतका दलहरुसँग एकीकृत समाजवादीले एकताको प्रक्रिया सुरु गरेको छ । उता माधव नेपालले एकताको प्रक्रिया थालिरहँदा असन्तुष्ट समूहलाई एमालेले स्वागत गर्ने भएको हो ।