पत्रकार सम्मेलन गर्दै ओली, बोलाए सबै सम्पादकलाई


काठमाडौं, कार्तिक २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन्। उनले सत्ताच्युत भएपछि पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर भक्तपुरको गुण्डुमा बस्दै आएका ओलीले आज दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा सम्पादकहरूसँग छलफल गर्न लागेका हुन् ।

पछिल्ला दिनहरूमा पार्टीका कार्यक्रमहरूमार्फत राजनीतिक सक्रियता देखाउँदै आएका ओलीले सरकार निर्वाचन गराउन गम्भीर नरहेको, संसद् पुनःस्थापना हुनुपर्ने, अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै आएका छन् । संसद् विघटन असंवैधानिक भएको भन्दै एमालेले अहिलेका कुनै पनि गतिविधि चुनाव उन्मुख नरहेको जनाउँदै विघटन नै असंवैधानिक भएकाले संसद् पुनर्स्थापना हुनुपर्ने माग गरेको छ ।

यसअघि सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा छलफल भएको थियो ।

उक्त बैठकमा नेतृत्व परिवर्तनका विषयमा समेत चर्चा भएको थियो । त्यसअघि गुण्डुस्थित ओलीको डेरामा भएको एमाले सचिवालय बैठकमा धेरै पदाधिकारीहरूले अध्यक्षले पदत्याग गरेर मार्गप्रसस्त गर्नुपर्ने बताएका थिए। ओलीले भने केन्द्रीय कमिटीको पहिलो दिनको बैठकमा मन्तव्य दिँदै फेसबुकमा अभियान चलाउँदैमा राजीनामा नदिने बताएका थिए। उनले आफूले नबिग्रिएकाले सप्रिन आवश्यक नरहेको बताएका थिए।