विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने देशभरीका हस्ताक्षरकर्तालाई काठमाडौं उतार्ने कांग्रेस नेता घिमिरेको चेतावनी


काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनको माग गर्दै गरिएको ५४ प्रतिशत हस्ताक्षरमा शंका गर्ने ठाउँ नै नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले पार्टीमा महत्वपूर्ण योगदान गरेका नेता तथा कार्यकर्ताहरुको मतलाई नजरअन्दाज गरेर आरोप लगाइएको उनले बताए । उनले विशेष महाधिवेशनको मागसहित गरिएको हस्ताक्षर नक्कली प्रमाणित गर्न चुनौती दिए ।

‘सबै क्षेत्र–क्षेत्रमा साथीहरु बस्नुभएको छ । सल्लाह गर्नुभएको छ । भेटघाट गर्नुभएको छ, कुरा गर्नुभएको छ । हामीसँग कुरा भएको छ, भेट भएको छ । पार्टीमा यति महत्वपूर्ण योगदान गरेका महत्वपूर्ण साथीहरुलाई नजर अन्दाज गरेर यो हस्ताक्षर नै नक्कली हो भन्ने प्रचार उहाँहरुले अहिले सुरु गर्नुभएको छ । म उहाँहरुलाई विनम्रतापूर्वक चुनौती के दिन चाहन्छु भने– नक्कली प्रमाणित गर्नुुस् न,’– उनले भने ।

साथै, आफूहरुले पार्टी विभाजन गर्न लागेको भनेर लगाइएको आरोपमा पनि कुनै सत्यता नरहेको उनले बताए । आफूहरुसँग अहिले बहुमत रहेको बताउँदै नेता घिमिरेले बहुमत हुनेले पार्टी विभाजन गर्नुपर्ने कुनै बाटो नरोज्ने बताए । उनले महाधिवेशनलाई धकेल्ने, हस्ताक्षरकर्ताहरुको मतलाई बेवास्ता गर्ने र नजरअन्दाज गर्ने काम भयो भने विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हस्ताक्षरकर्ताहरु काठमाडौं घेर्न आउने चेतावनी दिए । देशभरीका कार्यकर्ता काठमाडौंमा भेला भएर विशेष महाधिवेशनको पक्षमा दवाब दिन पनि आफूहरु तयार रहेको उनले बताए ।

‘उहाँहरुले यसलाई धकेल्ने, यसलाई विषयान्तर गर्ने, यसलाई नजरअन्दाज गर्ने, अपमान गर्नेतर्फ उहाँहरुले आफूलाई लिएर जानुभयो भने, अथवा पार्टीको अफिसियल निर्णय त्यसरी आयो भने त हस्ताक्षरकर्ताहरुले त आफ्नो बाटो लिन्छन् नि त । महाधिवशेन बोलाउनु पर्दैन, त्यसपछि हस्ताक्षरकर्ताहरुले आफैं ? भेला हुन्छन् नि त एकै ठाउँ काठमाडौंमा । देशभरीका हस्ताक्षरकर्ताहरु भेला भए भने के हुन्छ त्यसपछि,’– उनले भने ।

साथै, उनले अहिलेको विषम परिस्थितिमा निर्वाचनमा गएर नयाँ संसद् र सरकारमार्फत देशलाई निकास दिनुको अर्को विकल्प नरहेको बताए । देशको राजीतिलाई सही ट्रयाकमा हिँडाउनका लागि पनि संसद् र नयाँ सरकारको आवश्यकता रहेको उनले बताए । उनले भने, ‘निर्वाचन हाम्रो लागि अनिवार्य छ नि । निर्वाचन भएन भने संवैधानिक प्रक्रिया सुचारु कसरी हुन्छ ? संविधानले निर्देश गरेको बाटोमा नेपालको राजनीतिलाई हिँडाउनका लागि पनि निर्वाचन र संसद् चाहियो नि ।’