काठमाडौं, कार्तिक २ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम नबुझाउने उद्योगमा तिहारपछि बिजुलीको लाइन काटिने बताएका छन् । नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदैछ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता नबुझाउने उद्योगमा तिहार लगत्तै लाइन काट्न सुरु गरिने उनको भनाई छ ।
रेडियो कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, ‘प्राधिकरणले बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । बक्यौता बुझाउने आज अन्तिम दिन हो । अहिलेसम्म नौ वटा उद्योगले बक्यौता बुझाईसकेका छन् । आज बेलुकासम्म किस्ता नतिर्ने उद्योगमा तिहार लगत्तै लाइन काट्नेबारे प्राधिकरण सञ्चालक समितिले छलफल गर्नेछ ।’
शुक्रबारसम्म हुलास स्टिल, अशोक स्टिल, हामा आइरन, सर्वोत्तम स्टिल, लक्ष्मि स्टिल, सम्राट सिमेन्ट, शुभ श्री अग्नी सिमेन्ट, नव नेपाल प्लास्टिक र रोल्पा सिमेन्टले बक्यौता बुझाएको उनले जानकारी दिए ।
प्राधिकरणका अनुसार हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।
त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार, सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल प्लास्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ बुझाउको छ । यी उद्योगबाट कुल ३ करोड २२ लाख रुपैयाँ बक्यौताबापतको रकम उठेको प्राधिरणले जनाएको छ ।




प्रतिक्रिया