कांग्रेस नेता श्रेष्ठले औंल्याए राजसंस्थालाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता


काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले निधेषको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजसंस्थालगायत परम्परागत शक्तिहरु, दल र जेन–जी आन्दोलनका शक्तिहरुलाई समेटेर सर्वपक्षीय संवादको आवश्यक रहेको उनले बताए । नेता श्रेष्ठले भने, ‘राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दलहरु, जेन–जी आन्दोलनमा फरक मत राख्ने सबै शक्तिहरुलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ । यो आवश्यकता अत्यन्त आवश्यकता छ ।’

राष्ट्रियता, सार्वभौमसत्ता कायम राख्दै आन्तरिक र बाह्य हस्तक्षेपबाट मुक्त रहन सर्बपक्षीय भेला गरेर समाधान निकाल्नका लागि अब ढिलाइ गर्न नहुने बताए । ‘अब हामीले ढिलाइ गर्यौं भने हामीलाई पर्खँदैन । अब हामीले द्रुत गतिले यसको बारेमा सोच्नुपर्छ,’– उनले भने ।

आफू विपी कोइराला, गणेशमान र कृष्णप्रसादको अनुयायी रहेको दाबी गर्दै दलभन्दा माथि उठ्न चाहेको पनि उनले बताए । राष्ट्रिय एकता र सर्वपक्षीय भेलाको आयोजनामा सक्रिय तवरबाट लागि पर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न उनले आग्रह गरे । अहिले राजनीतिक दलहरुलाई एनजीओमार्फत विस्थापित गर्ने र निषेधको नीति अपनाउने प्रपञ्च भइरहेको पनि उनले बताए । उनले भने, ‘अहिले दलहरुलाई निषेधको नीति अपनाइएको छ । लोकतन्त्रको नाममा राजनीतिक दलहरुलाई एनजीओद्वारा विस्थापित गर्ने प्रपञ्चको शिकार हामी राजनीतिक दलहरु बनेका छौं । यसले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमसत्तामा खतरा उत्पन्न गरिरहेको छ ।’