काठमाडौँ, ३ कात्तिक । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकको जीउ र धनको सुरक्षाका लागि नेपाल प्रहरी २४सै घण्टा खटिएको बताएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुभ दीपावली तथा छठ पर्व २०८२ को अवसरमा आयोजना गरेको सङ्गीतिक तथा ट्राफिक सचेतना कार्यक्रममा एआइजी कार्कीले प्रहरी सधैँभरी नागरिकको सुरक्षामा समर्पित रहेको र समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अतुलनीय रहेको बताए ।
“प्रहरी भनेको नागरिकको सुख–दुःखमा साथ दिने संस्था हो । हामी नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर खटिएका छौँ,”– उनले भने ।
उनले विशेष गरी चाडपर्वको समयमा बढ्दो भीडभाड, सवारी चाप, मादक पदार्थको दुरुपयोग र सम्भावित आपराधिक गतिविधिहरू नियन्त्रण गर्न प्रहरी अझ बढी सतर्क र सक्रिय रहेको जानकारी दिए ।
कार्यक्रममा एआइजी कार्कीले जनतालाई चाडपर्व शान्तिपूर्ण, संयमित र पारिवारिक वातावरणमा मनाउन आग्रह गरे । उनले मादक पदार्थ सेवनबाट टाढा रहन, ट्राफिक नियमको पालना गर्न, सार्वजनिक शान्ति भङ्ग हुने कार्य नगर्न र सहयोगी नागरिक बन्न पनि अनुरोध गरे ।




प्रतिक्रिया