डिजेल, पेट्रोल र खानेकुराको जोहो गरेर राख्नुस्, छठपछि नेपाल ठप्प पार्दैछौंः दुर्गा प्रसाईँ


काठमाडौं, ४ कात्तिक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले अगामी छठपछि नेपाल ठप्प पार्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डिजेल, पेट्रोल र खानेकुराको जोहो गरेर राख्न सबैलाई आग्रह गरे ।

प्रसाईँले आफूहरुको आन्दोलन यो संविधान फ्याँकेर र वैद्धिक सनातनसहितको हिन्दु अधिराज्य कायम गराएमात्रै पूरा हुने बताए । उनले तबसम्म यो बन्द नै हुने बताए ।

‘अब हामीले छठ पछाडि, कात्तिक १५ गते पछाडि पेट्रोल, डिजेल, खानेकुरा राख्नुहोस् । नेपाल बन्द हुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म । जबसम्म यो व्यवस्था फ्याँक्दैनौं, यो संविधान फ्याँक्दैनौं । यो संविधान हो सबैभन्दा घाँडो । वैद्धिक सनातन हिन्दु अधिराज्य कायम गर्दैनौं, तबसम्म देश बन्द हुन्छ,’– उनले भने ।

आफ्नो आन्दोलनको एजेण्डा गरिबहरुको २० लाखभन्दा तलको ऋण मिनाह हुनुपर्ने, बैंक, लघुवित्त र सहकारीले लिलाम गरेर लगेको सम्पत्ति उनीहरुकै नाममा फिर्ता हुनुपर्ने, सरकार ग्यारेन्टी बसेर २५ वर्षसम्म ऋण तिर्ने सुविधा दिनुपर्ने, देशका शिक्षक, कर्मचारी सबैलाई एक लाखभन्दा बढी तलब दिने, भ्रष्टाचारको अन्त्य गर्ने र देशका किरात, बौद्ध सबैलाई समेटेर हिन्दु अधिराज्य कायम गर्ने रहेको पनि उनले बताए ।