दुर्गा प्रसाईँको आन्दोलनका एजेण्डाः गरिबहरुको २० लाखसम्म ऋण मिनाह, कर्मचारीको न्यूनतम् तलब एक लाखभन्दा बढी


काठमाडौं, ४ कात्तिक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले अगामी छठपछि आफूहरुको आन्दोलन सुरु हुने बताएका छन् । उनले छठपछि नेपाल ठप्प पार्ने गरी आन्दोलन हुने बताए । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डिजेल, पेट्रोल र खानेकुराको जोहो गरेर राख्नसमेत सबैलाई आग्रह गरे ।

प्रसाईँले आफूहरुको आन्दोलन यो संविधान फ्याँकेर र वैद्धिक सनातनसहितको हिन्दु अधिराज्य कायम गराएमात्रै पूरा हुने बताए । उनले तबसम्म नेपाल बन्द नै हुने बताए ।

त्यस्तै, आफ्नो आन्दोलनको एजेण्डा गरिबहरुको २० लाखभन्दा तलको ऋण मिनाह हुनुपर्ने, बैंक, लघुवित्त र सहकारीले लिलाम गरेर लगेको सम्पत्ति उनीहरुकै नाममा फिर्ता हुनुपर्ने, सरकार ग्यारेन्टी बसेर २५ वर्षसम्म ऋण तिर्ने सुविधा दिनुपर्ने, देशका शिक्षक, कर्मचारी सबैलाई एक लाखभन्दा बढी तलब दिने, भ्रष्टाचारको अन्त्य गर्ने रहेको पनि उनले बताए ।