काठमाडौं, ४ कात्तिक । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र आफूलाई गिरफ्तार गर्न सरकारका पदाधिकारीहरुले नियमित मिटिङ गरिरहेको बताएका छन् । बस्नेतका अनुसार चार जनालाई पक्राउ गर्नका लागि महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रमुखको कार्यालय र गृहमन्त्रीको कार्यकक्षमा नियमित मिटिङ हुने गरेको बताएका हुन् । उनले आफू सरकार र सरकार सञ्चालन गर्ने व्यक्तिहरुको सूचनाको नियमित अपडेटमै रहेको बताए ।
‘अहिले पनि उनीहरुको मुख्य लक्ष्य भनेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, रमेश लेखकजी र मसमेतलाई गिरफ्तार गर्नको निमित्त के–के गर्न सकिन्छ भन्ने हिसाबले कहिले महान्यायाधिवक्ताको कार्यालयमा, कहिले कहिले आईजीसापको कार्यकक्षमा, कहिले गृहमन्त्रीको कार्यकक्षमा रेगुलर मिटिङहरु बसिराखेका छन्,’– उनले भने ।
नेता बस्नेतले जेन–जी आन्दोलनको नाममा केटाकेटीहरुको भावनामा खेलेर विदेशी शक्तिहरुले नेपालमाथि आक्रमण गरेको बताए । जेन–जीहरुको आन्दोलनमा भ्रष्टाचार नियन्त्रण, नातावाद, कृपावादको अन्त्य, सुशासन र सामाजिक सञ्जाल पहुँचलगायतका सामान्य मागमात्रै रहेको उनले बताए । सरकार परिवर्तन र प्रधानमन्त्री ओलीको राजीनामा जेन–जीहरुको माग नरहेको पनि उनले बताए ।
‘जेन–जी पुस्ताका केटाकेटीहरुको भावनामा खेलेर विदेशी शक्तिहरुले जुन ढंगले नेपालमाथि आक्रमण गरे, यो कुनै आन्दोलन थिएन । नेपाली र ओरिजिनल जेन–जीहरुले यसलाई आन्दोलन भन्ने ठाने । भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ, नातावाद, कृपावादको अन्त्य हुनुपर्छ, सुशासन दिनुपर्छ, सामाजिक सञ्जालमा हाम्रो पहुँच कायम राख्नुपर्छ भन्ने सामान्य माग राखेका थिए । कुनै सत्ता परिवर्तनको माग पनि थिएन, प्रधानमन्त्रीको राजीनामाको माग पनि थिएन । उनीहरुलाई उचालियो, भावनामा बहकाइयो,’– उनले भने ।




प्रतिक्रिया