काठमाडौं, कार्तिक ७ । दसैँअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फर्मर’ दुर्गेश थापा यतिबेला अमेरिकाको सांगीतिक यात्रामा छन् । तिहारको छेको पारेर अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुति दिनेछन् ।
गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरु भएको उनको अमेरिकाको सांगीतिक यात्रा २२ नोभेम्बरमा डल्लासमा पुगेर टुंगिनेछ । ‘आउँदो शनिबार न्युयोर्क शहरमा प्रस्तुति दिँदै छु,’ गायक थापाले भने, ‘म निकै उत्साहित छु, तिहारको माहौलमा अमेरिकामा रहनुभएका नेपालीहरूसँग भेट हुने अवसर जुटेको छ ।’
यो उनको पहिलो अमेरिका यात्रा हो । डेढमहिने यात्राका क्रममा थापाले न्युयोर्क, बाल्टिमोर, कोलम्बस, भर्जिनिया, कोलोराडोलगायत शहरमा प्रस्तुति दिनेछन् । उसो त देशविदेशका सांगीतिक कार्यक्रममा उनको दौडधुप गत वर्षदेखि नै बढेको हो । गत पुसमा सार्वजनिक गीत ‘दुस्मन हेरेको हेर्यै…’को सफलताले आफ्नो सांगीतिक ‘करिअर’लाई नै नयाँ मोड दिन पुगेको गायक थापा बताउँछन् । उक्त गीतलाई युट्यबमा हालसम्म १३ करोडभन्दा बढीपटक हेरिएको/सुनिएको छ । गीत युट्युब ट्रेन्डिङको पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो ।
गीतको सफलताले भावुक र खुसी सँगसँगै भएका थापाले त्योबेला भनेका थिए, ‘भगवान्रूपी दर्शक/स्रोताले दिनुभएको यो सम्मान केबल भ्युजको संख्या होइन, यो सपना पूरा भएको क्षण हो ।’
‘दुस्मन हेरेको हेर्यै…’ मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर पनि सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र संगीतमा उक्त गीत तयार पारेका हुन् । गीतको संगीत संयोजन पनि उनी आफैंले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा थापासहित कलाकार प्रियंका कार्की, कविता नेपाली, पेमा लामालगायतका अभिनय रहेको छ । उक्त गीत आफ्नो ब्रान्ड गीतजस्तो बनेको थापाले बताए । ‘यो मेरो करिअरकै एउटा मानक गीतका रूपमा रहनेछ,’ उनले भने ।
थापाको पछिल्लो गीत ‘जाने भए जाम माया…’ गीत पनि चर्चित छ ।
‘दुस्मन हेर्यैको हेर्यै…’ गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ,’ गायक थापाले भने, ‘कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यस्तताका कारण समय दिन सकिरहेको छैन ।’ अमेरिकापछि क्यानाडा र युरोपको सांगीतिक यात्रा तय हुन लागेको उनले सुनाए । यस वर्ष अधिकांश विदेशकै कार्यक्रममा व्यस्त रहने उनको भनाइ छ ।
पछिल्लो समय देशविदेशका सांगीतिक कार्यक्रम र मेला–महोत्सवमा उनको माग बढेको छ । गत हिउँदमा उनलाई महोत्सव पुग्न भ्याइनभ्याइ थियो । गत फागुन महिनामा मात्र देशका ३२ भन्दा बढी ठाउँमा पुगेर गायक थापाले प्रस्तुति दिएका थिए । ‘सधैँ म यो स्थानमा रहन सक्दिनँ, मेरो ठाउँमा अर्को प्रतिभा आइपुग्छ,’ उनले भने, ‘तर, म आज जहाँ छु, आफ्नै मिहिनेत र कर्मका कारण छु ।’
सयौँ गीतमा स्वर र म्युजिक भिडियोमा अभिनय गरेका थापाका ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा…’लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा संगीत दिएका छन् । उनले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
‘डाँडै बिसौनी…’, ‘जूनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौँ…’लगायत उनद्वारा अभिनित चर्चित लोकदोहोरी गीत हुन् । पहिलोपटक दीपक/दीपाको चलचित्र ‘छ माया छपक्कै…’मा प्रोमोसनल गीत गाएका थापाले चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो…’ गीत पनि चर्चित बनेको थियो । ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाई भन…’ गीतको संगीत र शब्द पनि उनले रचना गरेका हुन् ।
उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् । थापा गायकभन्दा बढी स्टेज ‘पर्फर्मर’का रूपमा आफूलाई चिनाउन चाहन्छन् । करिअरको सुरुवातीकालमा रेस्टुराँ र बारमा नृत्यकारको रूपमा काम गरेका उनी अहिले अभिनय र संगीतमा पोख्त छन् ।
विगतमा कतिपय सिर्जनाका कारण चर्चा र विवादमा आइरहने थापाले पछिल्लो समय भने आत्मसमीक्षासहित अगाडि बढेको बताए । १९ वर्षको सिर्जनकर्ममा मीठा नमीठा क्षणहरू गुजारेका उनी संघर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुन् । युवा र किशोर पुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन् ।
२०६३ सालतिर गृहथलो बागलुङको गलकोट नगरपालिका– ७, मल्मदेखि काठमाडौं पुग्दा उनीसँग केवल एउटा सपना थियो– मोडल बन्ने । समयक्रममा उनी अभिनय हुँदै गायनतिर मोडिए । गायक तथा सर्जक वसन्त थापाको साथ लागेर पहिलोपटक राजधानी छिरेका उनको एक अपरिचित शहरमा संघर्ष सुरु भएको थियो । काठमाडौंजस्तो सपनाको शहरमा थापालाई अनेक अवरोध पनि नआएका होइनन् । तर, उनले बाधाहरू सजिलै छेके, रोके र पहिल्याए आफ्नो सत्मार्ग ।
‘अग्रज कलाकार, मेरो आदरणीय दाइ वसन्त थापासँग म पहिलोपटक काठमाडौं आएको हुँ, कलाकारितामा मलाई तातेताते गराएको उहाँले नै हो,’ दुर्गेशले भने, ‘एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रूपमा म उहाँलाई आदर गर्छु ।’
२०६५ सालमा गायक विमल डाँगीको दसैँ गीतको म्युजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए । पूर्णकला बीसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जून लाएको हो…’ गाएका थिए । उनले केही साताअघि ‘जेन–जी’ आन्दोलनका घाइतेलाई आर्थिक सहयोगसमेत गरेका छन् ।
काठमाडौंका अस्पताल पुगेर घाइतेलाई भेटेका उनले ‘जेन–जी’ युवाहरूको बलिदान खेर जान नहुनेमा जोड दिएका थिए । उनले पहिलो चरणमा ‘जेन–जी’ आन्दोलनका घाइते ११ जनालाई १० हजारका दरले उपचार खर्चमा सहयोग गरेका थिए ।
गायक थापाले आफू सधैँ ‘जेन–जी’ पुस्ताहरूको पक्षमा रहेको बताएका छन् । ‘जेन–जी’ पुस्तामा देखिएको देशप्रतिको प्रेम र त्यागको भावनाले आफूलाई गर्व लागेको उनको भनाइ छ । –रासस




प्रतिक्रिया