काठमाडौं, ८ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउनका लागि नेकपा (माओवादी केन्द्र) सँग एकतामा जान लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले यस बीचमा पार्टी एकताका लागि विभिन्न दलहरुसँग छलफल भइराखेको बताएका हुन् । अरु सबै दलसँग वाम एकताको बारेमा छलफल भए पनि नेकपा (एमाले) सँग भने संवाद नै हुन नसकेको उनले बताए । नेता पाण्डेले आफूले हिजोको दिनमा पनि पार्टी विभाजन हुन नदिनका लागि अन्तिमसम्म प्रयत्न गरेको बताए । एमालेका दोस्रो तहका नेताहरुसँग आफ्नो केही संवाद र सम्पर्क भएको भए पनि उनीहरुले एकताको पक्षमा कुरा गर्न नचाहेको उनको भनाइ छ । नेता पाण्डेले माओवादीसँग भने एकताको धेरै कुरा अगाडि बढिसकेको बताए ।
‘अहिले नेकपा (माओवादी केन्द्र) सँग हाम्रो निकटता बढेको छ । हामीले बेदुराम भुसालको संयोजकत्वमा कार्यदल बनाएका छौं । अहिले त्यो कार्यदलले माओवादी केन्द्रसँग धेरै छलफल गरिसकेको छ । एउटा मोडालिटी पनि तयार गरेको छ, त्यो बाहिर आइसकेको छैन । हामी चाहन त अरु पार्टीलाई पनि गोलबन्द गराउन चाहन्छौं,’– उनले भने, ‘हाम्रो एकताको प्रयत्न सफल हुन सक्ने सम्भावना अगाडि बढेको छ ।’
माओवादी र एकीकृत समाजवादी मिलेर नयाँ पार्टी बन्दा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भनेर नाम नहरने उनले बताए । कम्यनिष्ट पार्टीकै नयाँ नाम आउने उनले बताए । मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने भन्ने कुरामा दुई पार्टीबीच सहमति भइसकेको उनले बताए । सैद्धान्तिक, वैचारिक र कार्यनीतिका हिसाबले छलफल धेरै अगाडि बढिसकेको उनले बताए ।
‘कम्युनिष्ट पार्टीकै नाममा अर्को नाम तय हुन्छ । हामी पार्टी दर्ता गर्छौं । चुनाव चिन्ह पनि गोलाकारभित्रको हँसिया हथौडा र कमलभन्दा बाहिर गएर अर्को नै खोजिने उनले बताए । गोलाकारभित्र कलम राख्ने कि भन्ने पनि आएको छ । यी सबै कुराहरु प्रस्तावको रुपमा छन् अहिले । तर, माओवादको नामबाट चाहिँ पार्टी गठन नहुन सक्छ । छलफल धेरै निकट पुगेको छ,’– उनले भने ।




प्रतिक्रिया