हामीले एमालेसँग पनि एकताको ढोका खोलेका छौं, सम्मानजनक ढंगले हाम्रो खोजी हुनुपर्योः सोमप्रसाद पाण्डे


काठमाडौं, ८ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले नेकपा (एमाले) सँग पनि आफूहरुले एकताको ढोका खोलेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सम्मानजनक ढंगले आफूहरुको खोजी भएको खण्डमा एमालेसँग पनि एकता हुनसक्ने बताए । माओवादी केन्द्रसँग भने एकताको प्रक्रिया निकै अगाडि बढिसकेको उनको भनाइ छ ।

‘एमालेसँग अहिलेको अवस्थामा त देखिँदैन । एमालेसँग पनि एकता गर्नको निम्ति हामीले ढोका खोलेका छौं । सम्मानजनक ढंगले हामीलाई खोजी हुनुपर्यो । एकताको निम्ति नै हामीले यो प्रस्ताव गरेको हो । अहिले नेकपा (माओवादी केन्द्र) सँग जस्तै सबै वामपन्थीहरुसँग हामीले एकता गर्न चाहिराखेका छौं,’– उनले भने ।

एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरु पारित गर्दै विगतमा पार्टी निर्माणमा योगदान गरेका र विभिन्न कारणले अहिले पार्टी बाहिर रहेका सबैलाई पुरानै घर फर्किन आग्रह गरेको थियो । सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेको भाषामा भने आफूहरुको आपत्ति रहेको नेता पाण्डेले बताए ।